पर्यटन/संस्कृति

म्याग्दीको धौलागिरि गाउँपालिकाको पर्यटकीय गाउँमा विद्युतीकरण

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ स्थित पर्यटकीय गाउँ बगरमा विद्युतीकरण गरिएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने बगरमा १६ किलोवाट क्षमताको सोलार पलान्ट जडान गरी विद्युतीकरण गरिएको हो ।

रु ७५ लाखको लागतमा निर्माण भएको सो योजनाबाट बगर, मिस्तुङ र जेल्तुङका ५२ परिवार लाभान्वित भएका वडासदस्य बमबहादुर पुनले जानकारी दिएका छन् । परियोजना निर्माणमा धौलागिरि गाउँपालिकाको रु ४० लाख, अमेरिकाको गिभ पावर संस्थाको रु ३० लाख बराबरको उपकरण र प्राविधिक सहयोग तथा उपभोक्ताको रु पाँच लाख लगानी भएको छ । उपभोक्ताले खम्बा गाड्ने, विद्युत्गृहको भवन निर्माण र तार तान्ने काम गर्न प्रतिघर १९ दिनका दरले श्रमदान गरेको परियोजना निर्माण समितिका अध्यक्ष होमबहादुर पुर्जाले बताए ।

अमेरिकाबाट आएका गिभ पावर संस्थाका ११ सञ्चालक र कर्मचारीले पनि दुई दिन श्रमदान गरेका थिए । विद्युतीकरण भएपछि उज्यालोका साथै दैनिकीमा सहज भएको स्थानीयवासी मिमकुमारी घर्तीले बताएका छन् । मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, रेडियो सुन्न, कम्प्युटर तथा ल्यापटप चलाउन सहज भएको उनले बताए ।

यसअघि त्यहाँका बासिन्दा उज्यालोका लागि टुकी र सोलारमा निर्भर थिए । बगर र जेल्तुङमा दुई मिल सञ्चालन गर्ने तयारी गरिएको छ । गहुँ, मकै, कोदो र फापर पिस्न मिल नहुँदा स्थानीयवासीलाई समस्या छ । यसैगरी फर्निचर उद्योग चलाउन लागिएको स्थानीयवासी चित्र घर्तीले बताए । नजिकको बस्ती खिवाङ र मुदीबाट बगर पुग्न भिर र जङ्गलमा पूरै दिन हिँड्नुपर्छ ।

बगर धौलागिरि हिमालको प्रवेशद्वार हो । बगर गाउँ भएर संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर पुग्न सकिन्छ । ऊर्जाको माध्यमबाट स्थानीयको दैनिकीमा सुधार र पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले सोलारबाट विद्युतीकरण गरिएको गिभ पावर प्रबन्ध निर्देशक किशोर रिमालले बताएका छन् ।

तत्कालै केन्द्रीय प्रसारण लाइनको सम्भावना नभएको र लघुजल विद्युत् परियोजना बनाउन लागत धेरै आवश्यक पर्ने भएकाले सोलारबाट विद्युतीकरण गरिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए ।

“सबै बस्तीलाई उज्यालो बनाउने उद्देश्यअनुसार बगरमा सोलारबाट विद्युतीकरण गरिएको हो”, उनले भने “केन्द्रीय लाइन, लघुजल विद्युत् र सोलारबाट पालिकाका सबै घरलाई उज्यालो बनाउने योजना कार्यान्वयनमा जोड दिएका छौँ ।”