पत्रपत्रिका

सडक र पुल निर्माणमै सकिन्छ सबै बजेट

बिर्तामोड । झापाका पाँचजना प्रतिनिधिसभा सदस्यहरूले यो वर्ष पनि बाटो, पुल, कल्भर्ट र नाला निर्माणलाई नै पहिलो प्राथमिकता दिएका छन् । चालु वर्ष जिल्लामा सञ्चालन हुने स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रममा उनीहरूले भौतिक विकासलाई नै प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा सांसदहरू यो बर्ष जनही ६ करोड रुपैयाँ खर्च गर्न पाउने छन् । पाँच सांसदले ३० करोड रुपैयाँ १ सय २८ वटा शीर्षकमा खर्च गर्नेगरी रकम विनियोजन गरेका छन् । सबैभन्दा बढी सडक, पुल, कल्भर्ट, नाला र ड्रेन निर्माणमा ६२ वटा योजना छनोट गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्षेत्र झापा ५ मा १३ वटा योजनामा रकम विनियोजन गरेका छन् । उनले पनि सडक, पुल, कल्भर्ट र ड्रेन निर्माणलाई नै प्राथमिकतामा राखेर ७ वटा योजनामा करीब ३ करोड रुपैयाँ विनियोजन गरेका छन् । उनको दोस्रो प्राथमिकता दमक नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका विपन्न परिवारका लागि आवास निर्माण छ ।

उक्त योजनाअन्तर्गत दमकका १० वटै वडामा विपन्न आवास कार्यक्रम भनेर एक करोड ४९ लाख ३५ हजार तथा गौरीगञ्ज ५ र ६ नम्बर वडाका विपन्न परिवारका लागि ३४ लाख रुपैयाँ विनियोजन गरेको जिल्ला समन्वय समितिका नायब सुब्बा सुदर्शन बरालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले गृहनगर दमकमा मुटुरोग उपचार केन्द्र सञ्चालनका लागि यो वर्ष आफ्नो निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट ९९ लाख रुपैयाँ खर्च गर्ने निर्णय गरेका छन् । उनले दुई दशकभन्दा बढी समयदेखि अलपत्र बनेको खजुरगाछी बसपार्क निर्माणका लागि १५ लाख रुपैयाँ विनियोजन गरेका छन् ।

ओलीको निर्वाचन क्षेत्रमा दमक र गौरादह नगरपालिका तथा कमल र गौरीगञ्ज गाउँपालिका सामेल छ । उनले डेढ करोड, ९९ लाख, ९० लाख, ७० लाख, १५ लाख र १० लाख रुपैयाँका एक–एक वटा, १४ लाखका दुई वटा र ३४ लाखका ४ वटा योजना चयन गरेका छन् ।

पूर्वमन्त्री राम कार्कीले झापा–१ मा २८ वटा योजनामा बजेट छुट्याएका छन् । सडक, पुल, कल्भर्ट निर्माणका लागि १८ योजनामा रकम छुट्याइएको छ । उनले मेचीनगरमा २० वटा योजनाका लागि ४ करोड ६६ लाख ७० हजार, भद्रपुरका ९ र १० नम्बर वडाका लागि ४० लाख, बुद्धशान्ति गाउँपालिका ४, ५, ६ र ७ वडाका लागि ९० लाख रुपैयाँ विनियोजन गरेका छन् ।

६ वटा योजनामा ५० लाखका दरले रकम विनियोजन गरिएको छ। उनले अन्य योजनामा न्यूनतम १० लाखदेखि ३० लाखसम्म छुट्याएका छन्  । क्षेत्र २ का लागि सांसद पवित्रा निरौला खरेलले पनि पूर्वाधार निर्माणमै रकम विनियोजन गरेकी छन् । उनले सडक, पुल, कल्भर्टका लागि १४ वटा योजना छनोट गरेकी छन् ।

विभिन्न संघसंस्थाको सामुदायिक भवन निर्माण तथा स्तरोन्नतिका लागि ११ वटा योजनामा बजेट छुट्याएकी छन् । ६ वटा ५० लाख तथा अन्य १० लाखदेखि २९ लाख ७० हजार रुपैयाँसम्मका योजना चयन गरिएको छ ।

उनले बिर्तामोडमा १२ वटा योजनाका लागि २ करोड २३ लाख ५० हजार, अर्जुनधारामा १० योजनाका लागि २ करोड २३ लाख ५० हजार, कनकाईका ८ र ९ नम्बर वडामा तीनवटा योजनाका लागि ५९ लाख ७० हजार तथा बुद्धशान्ति गाउँपालिका १, २ र ३ मा चारवटा योजनाका लागि ८० लाख रुपैयाँ विनियोजन गरेकी छन् ।

राप्रपा महामन्त्री राजेन्द्र लिङदेनले झापा ३ का लागि ३० वटा योजना छनोट गरेका छन् । विभिन्न संघसंस्थाका भवन निर्माण पहिलो प्राथमिकतामा छ। उनले सामुदायिक भवन निर्माणका १५ वटा योजनामा बजेट विनियोजन गरेका हुन् ।

सडक, पुल, कल्भर्टका १३ वटा योजनामा रकम परेको छ। लिङदेनले भद्रपुर, कचनकवल र बाह्रदशीमा विद्यालय सुधार तथा स्मार्ट कक्षा निर्माणका लागि ६० लाख रुपैयाँ विनियोजन गरेका छन् ।

उनले भद्रपुरमा पाँचवटा योजनाका लागि एक करोड ७७ लाख, कचनकवल गाउँपालिकामा चारवटा योजनामा एक करोड ६० लाख, हल्दिबारीमा ६ वटा योजनाका लागि ६४ लाख ७० हजार, बाह्रदशीमा १० वटा योजनामा एक करोड ५५ लाख तथा बिर्तामोड–१० मा चारवटा योजनाका लागि ४० लाख रुपैयाँ विनियोजन गरेका छन् ।

सांसद लालप्रसाद ९एलपी० साँवाले झापा–४ का लागि २७ वटा योजना छनोट गरेका छन् । सबैभन्दा बढी शिक्षा विकासका योजना छन्। सडक, पुल, कल्भर्ट निर्माणतर्फ १० योजनालाई बजेट छुट्याएका छन् ।

शिवसताक्षी नगरमा १५ वटा योजनाका लागि ३ करोड ३ लाख, कनकाईका २, ३ र ७ नम्बर वडाका लागि तीनवटा योजनामा एक करोड ३० लाख, झापा गाउँपालिका १, ४, ५ र ६ वडाका लागि सातवटा योजनामा ९८ लाख ७० हजार तथा गौरीगञ्ज–१ र २ वडाको दुईवटा योजनामा ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

संघीय सांसदहरूलाई ‘स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम’ अन्तर्गत आआफ्नो निर्वाचन क्षेत्रमा चालु वर्ष सञ्चालन गर्ने योजनाबारे बजेट विनियोजन गर्नुपर्ने समावधि कार्तिक मसान्तसम्म थियो ।

जिल्लाका पाँचै जना संघीय सांसदले जिल्ला समन्वय समितिको प्रशासनिक खर्चका लागि जनही ३ लाख ३० हजार रुपैयाँका दरले बजेट छुट्याएका छन् । कान्तिपुर बाट