अन्तर्राष्ट्रिय

केन्यामा पहिरो ३७ को मृत्यु

एजेन्सी । केन्यामा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या आइतबार बिहानसम्ममा ३७ पुगेको छ । सरकारी अधिकारीहरुले शुक्रबार रातीको पहिरोमा परी मृत्यु हुनेको संख्या बढेर अहिलेसम्म ३७ पुगेको पुष्टि गरेका हुन् ।

देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने वेस्ट पोकोटमा घटना भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । केन्याका राष्ट्रपति उहुरु केन्याटाले मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

उनले प्रकाशित गरेको शोक वक्तव्यमा पहिरोका कारण बेपत्ता भएकाहरुको खोजी कार्य जारी राख्न र बेपत्ता तथा मृतकका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता गरिएको छ । त्यसैगरी आगामी दिनमा यसैगरी ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने तर्फ अहिलेदेखि नै सतर्कता अपनाउन पनि राष्ट्रपति केन्याटाले आह्वान गरेका छन् ।

केन्याका गृहमन्त्री फ्रेड मातीअङले पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कामहरु भइरहेको जानकारी दिए । उनले भने “उद्धार तथा राहतको कामहरु भइहेको छ, त्यसका लागि सुरक्षाकर्मीहरुको टोली र मानवीय सहायता सम्वन्धी निकायका व्यक्तिहरु खटिएका छन् ।”

प्रतिकुल मौसमका कारण खोजी तथा उद्धार कार्यमा कठिनाई भइरहेको उनले जानकारी दिएका छन् । थप क्षति हुनबाट बचाउने प्रयास नै अहिलेको प्राथमिकता भएको उनको भनाई छ । पहिरो प्रभावितहरुलाई अत्यावश्यक सेवा सुविधाहरुको अभाव रहेको बताइएको छ । केन्याको यो घटनास्थल छिमेकी मुलुकहरु युगान्डा र दक्षिणी सुडानबाट पनि नजिक पर्दछ ।

प्राकृतिक श्रोत साधन र भौितक संरचनाहरुको जथाभावी प्रयोग तथा दोहन, अत्यधिक धेरै बाटो र पुलहरुको निर्माणलगायतका कारणले पहिरो गएको बताइएको छ ।