अन्तर्राष्ट्रिय

कङ्गोमा विमान दुर्घटना, २३ को मृत्यु

जेन्सी । आइतबार कङ्गोमा भएको विमान दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन् ।

विमानले धावन मार्गबाट उडान भरेको केही समयभित्रमा नै विमानमा प्राविधिक समस्या आएर प्रजातान्त्रिक गणतन्त्र कङ्गोको घना वस्तीमा खसेको थियो । विमानमा दुई चालका दलका सदस्यसहित १७ यात्रु रहेका थिए । उनीहरूलाई जीवित भेट्ने सम्भावना निकै कम भएको उद्धारका कार्यका लागि घटनास्थलमा तैनाद सुरक्षाकर्मीले बताए ।

“अहिलेसम्म २३ जनाको मृत शरीर घटनास्थलबाट निकालिएको छ,” गोमास्थित उद्धार टोली संयोजक जोसेफ माकुन्दीले एएफपीलाई बताए । गोमा विमानस्थलका अधिकारी रिचार्ड मङ्गोलोपाले एएफपीसँगको कुराकानीमा दुर्घटनामा कुनै पनि यात्रु जीवित उद्धार गर्ने सम्भावना क्षीण रहेको बताएका छन् ।

गोमाबाट उत्तरी क्षेत्रमा रहेको बेनीका लागि विहान करिब ९ बजे उडेको ‘डोर्नियर–२२८’ विमानस्थलबाट ३५० किलोमिटर टाढा आवास क्षेत्रमा खसेको कङ्गोका अधिकारीहरूले पुष्टि गरेका छन् । दुर्घटनाग्रस्त विमान कम्पनी ‘बिजी बी’का हेरिटिएर सैयद मोमादाउले विमानमा दुई चालक दलका सदस्यसहित १९ जना रहेको बताए ।

बिजी बीका तीन विमानले उत्तरी किभू प्रान्तका विभिन्न रूटमा सेवा दिँदै आएको थियो । विमान कम्पनीका एक प्राविधिकले प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त भएको बताएका स्थानीय अनलाइन एकुलेट डट कमले उल्लेख गरेको छ ।

विमान वस्तीमा खसेको तर त्यहाँ कतिको मृत्यु भएको वा घाइते भएको भन्ने जानकारी आइसकेको छैन ।