अन्तर्राष्ट्रिय

अफगानिस्तानका आठ सुरक्षाकर्मीको मृत्यु

८ मङ्सिर । अफगानिस्तानको केन्द्रिय प्रान्त दैकुन्दीको कजरान जिल्लामा आइतबार सशस्त्र विद्रोही समूहले सुरक्षा चौकीमा गरेको आक्रमणमा परी कम्तीमा आठ सुरक्षाकर्मीको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता सकिनी एहसानीले पुष्टि गर्नु भएको छ ।

तालिबानी विद्रोहीको एउटा समूहले स्थानीय समयानुसार बिहान १ बजे कजरान जिल्लाको दुआजादा इमाम र ताङ्गासुफ इलाकाहरुमा रहेका सुरक्षाचौकीमा हमला गरेर चार घण्टासम्म झडप जारी राखेका एहसानीले सिन्हवा समाचार समितिलाई बताएको छ ।

आतङ्ककारी आक्रमण र त्यसपछिको झडपमा परी प्रहरी र सेनासहित आठ सुरक्षाकर्मी मारिनुको साथै अन्य तीन घाइते भएका बताइएको छ । तर यस आक्रमणको सयममा तालिवान लडाकूहरुतर्फ भने हताहत भए भएन सोको सही तथ्य प्राप्त हुन नसकेको बताइएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट २ सय ९० किलोमिटर पश्चिममा रहेको दैकुन्दी प्रान्त प्रान्तीय राजधानी निली शांतिपूर्ण रहेको मानिन्छ । यद्यपी छिमेकीमा पर्ने उरुगान प्रान्तमा सक्रिय तालिबानी लडाकू समूहले कहिलेकाँही सुरक्षाबलमाथि आक्रमण गर्दै आएको पाइन्छ ।