राजनीति

उपेन्द्र यादव र डा भट्टराईसँग तत्काल एकताको सम्भावनै छैनः राजेन्द्र महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँग तत्काल पार्टी एकता हुने सम्भावना नरहेको बताएका छन् । पार्टीको कार्यक्रमका लागि सिरहा आइपुगेका संयोजक महतोले आज सञ्चारकर्मीसँग समाजवादी पार्टी सरकारबाट नबाहिरिएकाले तत्काल एकताको सम्भावना नरहेको बताए ।

लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादीलगायतका पार्टीहरुसँग एकताको कुरा भइरहेको उल्लेख गर्दै महतोले अहिले नयाँ वैकल्पिक शक्तिको खाँचो रहेको बताए । संविधान संशोधन, मधेश आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्तालगायतका मागहरु सम्बोधन नभएसम्म तत्काल आफ्नो पार्टीले सङ्घीय सरकारलाई सहयोग गर्न नसक्ने बताए ।

यही मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई मधेश र मधेशीको पहिचान र अस्तित्व रक्षाको लागि जनमत सङ्ग्रहको रूपमा आफ्नो पार्टीले लिएको उनको भनाइ थियो ।