राजनीति

ओलीमाथी काँग्रेस थप शसंकित: उपनिर्बाचन भयरहित अवस्थामा सम्पन्न होला र? (भिडियोसहित)

काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्रीको गृहजिल्ला झापा र पछिल्लो समय बसोबार रहेको भक्तपुर नजिक हत्या हुनुले निर्बाचनका लागि शान्तीसुरक्षा कमजोर भएको प्रमाणित भएको बताएको छ । काँग्रेस प्रवक्ता विश्प्रकाश शर्माले विज्ञप्ती प्रकाशित गर्दै उक्त कुरा बताएका हुन् ।

उनले भनेका छन्, ‘उपनिर्वाचन सरकारलाई सच्याउन मतदाताका लागि महत्वपूर्ण अवसर रहेको अपिल हामी गरिरहेका छौं । त्यसैले मंसिर १४ को मिति नजिक आइरहंदा एकातर्फ हामी नेपाली कांग्रेसलाई मत दिन जरुरी कारणहरु उल्लेख गरिरहेका छौं भने अर्कातर्फ वर्तमान सरकारको असफलताका तथ्य सार्वजनिक रुपले राखिरहेका छौं ।

यस क्रममा रचनात्मक प्रतिपक्षका नाताले आज हामी बितेको २१ महिनामा देशमा शान्ति सुरक्षाको स्थितिमा बढेको प्रतिकुलताको प्रतिनिधिमुलक चित्र सरकार र मतदाता दुवैका समक्ष राख्न चाहन्छौं ।

केपि ओली प्रधानमन्त्री बन्नुभएको यो अवधीमा उहाँकै निर्वाचन क्षेत्र झापा ५ मा २ जनाको हत्या भएको छ । फरक घटनामा कमल गाउँपालिकाका बासिन्दा युवा ब्यवसायी खेमराज पौडेल तथा गौरिगञ्ज गाउँपालिकाका पाका ब्यक्ति अलगचन्द राजवंशी मारिएका छन् ।
काठमाडौ उपत्यकामा दुई बालक अपहरणपछि मारिएका छन् । पहिलो— प्रधानमन्त्रीको निजि घर रहेकोे बालकोटको नजिक कांडाघारीमा, दोस्रो— प्रधानमन्त्री निवास बालुवाटार पश्चिम बसुन्धारामा ।
उपत्यकामै असी बर्ष पुगेका ज्येष्ठ नागरिक पूर्व राजदूत केशव झाको यहि अवधीमा बीभत्स ढंगले हत्या भयो ।
रोल्पामा नेपाल तरुण दल लिवाङका सभापति रोहित पुन तथा सर्लाही र रुपन्देहीमा गरेर नेपाली कांग्रेसका अन्य ३ युवा साथीको हत्या नेकपाका कार्यकर्ताहरुको हातबाट यो अवधीमा भयो ।
सत्तारूढ कम्युनिष्ट पार्टीको झैं एउटै नाम र एकै झण्डा बोकेको विप्लव समुहको हिंसात्मक गतिविधिले पनि कतिपय बेला शान्ति सुरक्षामा खलल पुगेको छ ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १६ महिना पुग्दापनि दोषीहरुलाई कठघरामा उभ्याउन सरकार सफल हुन सकेको छैन ।
हत्या, अपहरण, बलात्कार र एसिड आक्रमणका घटना यो अवधिमा बढेर गएको छ ।

शान्ति स्थापना, संविधान निर्माण र तीन तहको निर्वाचन सम्पन्न भएपछि विरासतमा नेकपाले सहज राजनैतिक वातावरण प्राप्त गरेको थियो । तर यस्तो सहजताको समयमा मुलुकको शान्ति सुरक्षाको स्थिति भने निरन्तर खस्किनु सिंगो देशका लागि दुःखद बिषय हो ।

काँग्रेसको प्रश्न छः सम्माननिय प्रधानमन्त्रीज्यू नागरिकलाई सुरक्षाको प्रत्याभूति कहिले गर्ने ?’