समाचार

हेलम्बु र मेलम्चीमा खानेपानीको वितरण व्यवस्थित गर्न मन्त्री मगरको पुनः निर्देशन

मेलम्ची । मेलम्चीको पानी काठमाडौँमा ल्याउन काम भइरहेका बेला सरकारले सिन्धुपाल्चोकका आयोजना प्रभावित क्षेत्रमा खानेपानीको वितरण व्यवस्थित बनाउन पहल शुरु गरेको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकासहित जिल्लाको खानेपानी वितरण सहज बनाउन योजना अघि सारेको हो । मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जिल्लावासीको मागअनुसार स्रोत भएका जिल्लाले पर्याप्त खानेपानी पाउनुपर्ने मान्यताका साथ योजना ल्याइएको बताए ।

आयोजनाबाट प्रभावित गाउँपालिकासम्म पुग्ने सडक कच्ची भएकाले स्थानीयवासीले मन्त्रालयसँग सडक कालोपत्रको माग गर्दै आएका छन् । प्रवक्ता शाक्यले सडक निर्माणबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको बाँकी पाँच प्रतिशत काम १५ महिनामा सम्पन्न गर्ने गरी सरकारले दुई महिनापहिले सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले दुई साताअघि आयोजनास्थलमा निरीक्षण गरी काममा ढिलाइ नगर्न निर्देशन दिएकी थिईन्। पछिल्लो समयपनि पुनः किन ढिला भएको भन्दै तुरुन्त परिणम निकाल्न निर्देशन दिएको समाचार छ ।