सुदूरपश्चिम

औषधि व्यवसायी सङ्घको अध्यक्षमा जोशी

कैलाली । औषधि व्यवसायी सङ्घ कैलालीको प्रथम अधिवेशनबाट अध्यक्षमा जनकराज जोशी निर्विरोध चयन भएका छन् । सङ्घको शनिबार धनगढीमा भएको अधिवेशनबाट जोशीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन भएको हो ।

त्यस्तै उपाध्यक्षमा प्रेमराज बिसी, महासचिवमा मधुकर कुश्मी, कोषाध्यक्षमा रमेश पाण्डे, सहकोषाध्यक्षमा द्वारिकाप्रसाद चौधरी, सचिवमा चन्द्रिकाप्रसाद चौधरी चयन भएको सङ्घले जनाएको छ । सदस्यमा खेमराज भट्ट, चन्द्रबहादुर रावल र ठाकुरप्रसाद चौधरी चयन भएका छन् ।

खैरो हिरोइनसहित दुई पक्राउ
कैलाली प्रहरीले धनगढीबाट लागुऔषधसहित दुई जनालाई शनिबार पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–२ मेनरोड नजिकैबाट भारतको उत्तर प्रदेश लखिमपुर, खिरी पलियाका अन्दाजी २४ वर्षीय विवेक गुप्ता र धनगढी–३ घर भई हाल कञ्चनपुर पुर्नवास नगरपालिका–११ बस्ने २९ वर्षीय दीप थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
विशेष सूचनाका आधारमा उनीहरुलाई जाँच गर्दा विवेक गुप्ताले लगाएको पाइन्ट पछाडिको बायाँ खल्तीमा लुकाइछिपाइ राखेको दुई ग्राम ६८० मिलीग्राम खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।