प्रदेश 1

भाषाविद् रेग्मीको २८औँ कृति विमोचन

झापा । झर्रोवादी नेपाली साहित्यका अभियन्ता तथा भाषाविद् साहित्यकार चुडामणि रेग्मीको २८औँ कृति ‘सखारै सखारै’ निवन्ध सङ्ग्रह शनिबार यहाँ विमोचन गरिएको छ । झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा साहित्यकार कोमलप्रसाद पोखरेल, सरोज ओली, यज्ञराज प्रसाईँलगायतले कृतिको संयुक्त विमोचन गरेका हुन् ।

विसं २०१२ देखि निरन्तर साहित्यिक यात्रामा लाग्नुभएका रेग्मी हाल ८३ वर्ष पुगेका छन् । नयाँ स्रस्टा उत्पादन गर्ने र तिनीहरूलाई गोडमेल गरेर हुर्काउने रेग्मीले कविता र काव्य दुई, कथा सङ्ग्रह तीन, निवन्ध सङ्ग्रह आठ, हास्यव्यङ्ग्य दुई, समालोचना छ, चार भाषा व्याकरणलगायत अढाई दर्जन कृति प्रकाशन गरिसकेका छन् ।

रेग्मीलाई झर्रोवादी नेपाली भाषाको अभियन्ताका रूपमा समेत चिनिन्छ । बयोवृद्ध अवस्थामा साहित्य साधनामा निरन्तर लागिरहनुभएका रेग्मीले आफूले देखेभोगेका कुरालाई समेटेर सखारै सखारै निवन्ध सङ्ग्रह निकालेको डा ठाकुरप्रसाद पोखरेलले बताए ।

कार्यक्रममा साहित्यकार कोमलप्रसाद रेग्मी, केशव आचार्य, पत्रकार चन्द्र भण्डारीले रेग्मी साहित्यकारलाई हौसाउने र साहित्यमा निरन्तर लाग्न प्रेरणा भर्ने झर्रोवादी नेपाली अभियानका सफल र सक्रिय अभियन्ताको रूपमा दर्ज भएको बताए । भानु साहित्यिक प्रतिष्ठान काँकडभिट्टाले प्रकाशन गरेको कृतिको विमोचनमा झापा, इलाम र मोरङका साहित्यकारको सहभागिता रहेको थियो ।