प्रदेश 1

देश विकासको प्रमुख आधार खेलकूदलाई बनाउनुपर्छः मुख्यमन्त्री राई

इटहरी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले खेदकूदलाई देश विकासको प्रमुख आधार बनाउनुपर्ने बताएका छन् । मोरङको बेलबारीमा आयोजित नोबेल अन्तरराष्ट्रिय सितेरियो कराते प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकूदको माध्यमबाट सभ्य नागरिक उत्पादन गर्न मद्दत पुग्ने बताए ।

“युवा र बालबालिकालाई खेलकूदप्रति आकर्षित गर्नुपर्छ”, मुख्यमन्त्री राईले भने । खेल आयोजनाबाट भ्रमण वर्षलाई सहयोग पुग्ने उनको भनाइ थियो । खेलकूदका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको भन्दै उनले सातवटै प्रदेशमा खेलकूद प्रतियोगिताका लागि रकम विनियोजन गरिएको बताए । सितोरियो कराते प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, पाकिस्तान, भूटान र बङ्गलादेशका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको आयोजना बेलबारी सितोरियो कराते महासङ्घले गरेको हो ।