गण्डकी प्रदेश

पोखराको समग्र विकासको सारथी बन्छुः नेकपा उम्मेद्वार विद्या

कास्की । कास्की निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखराको समग्र विकासमा आफू सारथी बन्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

पोखरा महानगरपालिका–२० भलाममा घरदैलो कार्यक्रमपश्चात् आज आयोजित चुनावीसभामा उनले चुनावमा जीतसँगै यस क्षेत्रका भौतिक पूर्वाधार विकास एवम् जनताका आधारभूत आवश्यकतालाई प्राथमिकताका साथ अघि बढाइने आश्वासन दिईन् ।

संविधानले व्यवस्था गरेको महिला हकअधिकारको संरक्षणमा आफू लाग्ने जनाउँदै उनले युवा शक्तिको सीप र महिलाको सशक्तीकरण ‘समृद्ध नेपाल, सुखी नेपाली’को आधार भएको बताईन् ।

स्व रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा र महिला नेतृत्व स्थापित गर्न पार्टीले आफूलाई उम्मेदवार बनाएको बताउँदै उनले आफ्नो जीतसँगै संविधान कार्यान्वयनमा जोड दिइने स्पष्ट पारिन् ।

सो अवसरमा नेकपा गण्डकी प्रदेश सहइन्चार्ज एवम् पूर्वमन्त्री खगराज अधिकारीले भलाम क्षेत्रलाई मध्य पहाडी लोकमार्गले जोडेसँगै विकास निर्माणले काँचुली फेर्ने बताउँदै यस क्षेत्रको समग्र विकास निर्माणमा पार्टी र सरकारको ध्यानाकर्षण भएको जानकारी दिए ।

नेकपा केन्द्रीय सदस्य एवम् कास्की इन्चार्ज राजकाजी गुरुङले संस्कृतिमन्त्री हुँदा रवीन्द्रले नै राजनीतिसँगै संस्कृति पनि रुपान्तरण गर्नुपर्छ भनेर कदम चाल्नुभएको बताए।