लुम्बिनी

बूढेसकालको सहारा वृद्धभत्ता

पाल्पा । बूढेसकालमा शरीरमा जोस, जाँगर र फुर्तिलोपनको अभाव हुन्छ । काम गर्न नसक्दा अरुसँग नै परनिर्भर हुनुपर्ने हुन्छ । शरीर फुर्तिलो नहुँदाको पीडामा रहेका बेला सामाजिक सुरक्षा भत्ता जीवन जिउनका लागि साहारा बनेको छ ।

सरकारले प्रदान गर्ने सामाजिक सुरक्षाभत्ता दलित समुदायका ६० वर्ष र गैरदलित समुदायमा ७० वर्षदेखि वितरण गर्छ । सामाजिक सुरक्षाभत्ता पाउँदा बूढापाकाको जीवनमा खुशीसँगै उत्साह थपिएको छ । पाल्पा रिब्दीकोट गाउँपालिका–५, कुसुमखोलाका ७५ वर्षीय शिवकुमारी थापालाई बिरामी हुँदा औषधिमूलो गर्न र पोसिलो आहारा खान सामाजिक सुरक्षाभत्ताले सहयोग गरेको छ ।

“सानोतिना खर्च गर्नका लागि छोराबुहारीसँग पैसा माग्नुपर्दैन, बूढेसकाल लागेपछि बिरामी हुँदा ऋण खोज्नुपर्दैन”, थापाले भने । उपचारका नाममा पैसा नहुँदा अरुसँग पैसा माग्न हात थप्नुपर्ने बाध्यता हटेकोमा थापा खुसी छन् । मासिक दुई हजार सामाजिक सुरक्षाभत्ता पाउने व्यवस्था छ ।

थप रु एक हजार स्वास्थ्योपचार खर्च गरी मासिक रु तीन हजार भत्ता पाउँदा थापाको अनुहारमा खुशी देखिन्छ । “सरकारले हामीजस्ता बूढाबूढीलाई न्याय गरेको छ, अझै राम्रो काम गर्नुपर्छ । साउनदेखि वृद्धभत्ता बढाएकोमा खुशी लागेको छ”, थापाले थने । रिब्दीकोट गाउँपालिका–४ खस्यौलीका ७१ वर्षीया शोभालक्ष्मी ढकाल वडा कार्यालयबाट सामाजिक सुरक्षाभत्ता पाउँदा खुशी छिन् ।

दुई छोरा र बुहारीसमेत रहेका ढकालले पोसिलो आधार र औषधि उपचारमा नै खर्च हुने सुनाईन । वृद्धभत्ता बुझ्न आउँदा पुराना साथीसँग भेट हुन्छ । एकअर्काका दुःखसुख आदानप्रदान हुन्छ । हामीलाई पुराना मान्छेका पुरानै कुरा भनेझैं बूढापाका भेट हुँदा खुशी लाग्ने ढकालको भनाइ थियो ।

रिब्दीकेट गाउँपालिका डुम्रेखर्ककी शान्ति रुचाल अहिले घरमा एक्लै बस्नुहुन्छ । एउटा सानो घरमा दिनरात एक्लै बिताउनुपर्छ । साँझ बिहान एक्लै खाना पकाउनुपर्छ । एक्लै बसेका वृद्धालाई सरकारी भत्ताले ठूलो गुन लगाएको छ । रुचालले चार महिनामा रु आठ हजार सामाजिक सुरक्षाभत्ता बुझेर आफ्नै दैनिक खर्च चलाउछिन् ।

सामाजिक सुरक्षाभत्ताले घरमा साँझ बिहान चुलोमा आगो बाल्न सहयोग जुटेको छ । नुन, तेल, चामल, दालसमेत किन्न सहयोग पुगेको छ । एकल महिला तथा सन्तान गुमाएका आमाहरुका लागि सरकारी भत्ताले खुशी मात्रै ल्याएको छैन कि जीवनभर बाँच्न सहयोग पुरयाएको छ ।

खस्यौलीका तुल्सीप्रसाद नेपाल लौराको साहारामा हिँड्डुल गर्छन् । शरीर कमजोर बनेको छ । ७४ वर्षीय नेपाल चार महिनामा १२ हजार सामाजिक सुरक्षाभत्ता पाउँदा खुशी छन् । वृद्धवृद्धालाई मात्र होइन, सरकारले एकल महिलाका लागि मासिक रु दुई हजार भत्ता दिन्छ ।

सामाजिक सुरक्षाभत्ता वितरणले परिवारमा एक्लै जीवन जिउने, वृद्ध अवस्थामा औषधि उपचार, खानपिन तथा चाडपर्व राम्रोसँग मनाउन पाइएको प्रतिक्रिया वृद्धबृद्धाको रहेको पाइन्छ । रिब्दीकोट गाउँपालिकाका अनुसार गत आवमा रु चार करोड ६१ लख ६५ हजार ६६९ को बजेट सामाजिक सुरक्षाभत्ता शीर्षकमा प्राप्त भएको थियो ।

जसमध्ये रु सात लाख २४ हजार ८९० फिर्ता भएको गाउँपालिकाको भनाइ छ । विसं २०५१ मा मोहनमन अधिकारी प्रधानमन्त्री हुँदा सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालिएको थियो ।