बाग्मती

मुख्यमन्त्री पौडेलद्धारा सडक अनुगमन

हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पुनःनिर्माण प्राधिकरणमार्फत निर्माणाधीन करिब २४ किलोमिटरको भीमफेदी– इपा सडक तथा निजगढ काठमाडौँ द्रुतमार्गको अवलोकन तथा अनुगमन गरेका छन् ।

अवलोकनका लागि शुक्रबार उत्तरपूर्वी मकवानपुरको भीमफेदी, कोगटे, इपा पञ्चकन्यालगायतका क्षेत्रमा पुग्नुभएका मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले निर्माण गर्न लागेको सुरुङमार्गको अध्ययन गरिएको स्थानको निरीक्षण गरेका छन् ।

भीमफेदी–इपा सडकको अनुगमनका क्रममा मुख्यमन्त्री पौडेलले सडक फराकिलो र दीर्घकालीन हिसाबले बन्न लागेकोमा खुशी व्यक्त गर्दै उक्त सडकलाई हेटौँडाबाट काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिने बताए ।

रु २६ करोडको लागतमा निर्माण हुन लागेको उक्त सडक तोकिएकै मितिमा सम्पन्न गर्न मुख्यमन्त्रीले निर्देशन दिए । एक वर्ष अगाडिदेखि निर्माण प्रारम्भ भएको उक्त सडक सम्झौता भएको मितिले १८ महिनामा सम्पन्न गरिसक्नुपर्ने जनाइएको छ ।

यस सडक सञ्चालन भएपछि काठमाडौँ–इपा–देउराली सडकखण्ड हुँदै सवारी सञ्चालन हुनसक्ने तथा भीमफेदी गाँउपालिकाका स्थानीय लाभान्वित हुने गाउँपालिका अध्यक्ष हिदम लामा बताउछन् ।