खेलकुद

पारसको टिमले सन्दीपलाई हराएपछि

काठमाडौं । युएईमा जारी टी(१० क्रिकेट लिगको सुपर लिगको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का रहेको टिम आबु धाबी विजयी भएको छ ।

आबु धाबीस्थित शेख जायद स्टेडियममा शुक्रबार राति पारसको टिमले नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको कर्नाटका टुसकेर्सलाई ३४ रनले पराजित गरेको हो ।

आबु धाबीले दिएको १ सय २९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्नाटकाले १० ओभरमा ६ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । कर्नाटकाका लागि रायन टेन डेस्काटेले अविजित ३२ रन जोडे । यस्तै कप्तान हसिम अमलाले १८ रन जोड्दा अहमेद राजाले १३ रन जोडे । आबु धाबीका हेडेन वाल्सले २ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आबु धाबीले १० ओभरमा २ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो । आबु धाबीका लुक राइटले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान मोइन अलीले ३५ रन जोड्दा वाएन म्याडसेन २० रनमा अविजित रहे ।

अन्तिम खेलमा पारस प्लेईङ सेटमा परेपनि ब्याटिङ गर्न पाएनन् । कर्नाटकाका नाथन रिमिङटनले १ विकेट लिए । सन्दीप भने अन्तिम खेलमा बेन्चमा रहेका थिए । यस्तै आबु धाबी र कर्नाटका दुवै टिम प्ले अफमा पुग्न सकेनन् । सुपर लिगमा पारसको टिम ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रह्यो । सन्दीपको टिम ३ अंक जोडेर पुछारमा रह्यो ।

मराठा अरबियन्स शीर्ष स्थान र क्वालान्दर्स दोस्रो स्थानमा रहदै क्वालिफायरमा पुगेका छन् । यस्तै बंगला टाइगर्स र डेकन ग्लाडीयटर्सबीच इलिमिनेटर खेल हुनेछ ।