समाचार

उपेन्द्र यादब सरकारबाट नबाहिरिए समाजबादीसंग एकता असम्भवः राजेन्द्र महतो

धनुषा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिए मात्र पार्टी एकता सम्भव हुने बताएका छन् ।

जनकपुरस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग संयोजक महतोले समाजवादी पार्टी सरकारसँग नबाहिरिएकाले एकताको सम्भावना तत्कालका लागि नभएको बताए । उनले भने, “देशमा काँग्रेस र कम्युनिष्ट शक्तिको विकल्पमा नयाँ वैकल्पिक शक्तिको खाँचो छ, त्यसलाई हामी पूरा गर्न लागेका छौँ, तर समाजवादी पार्टीले सरकार नछोडेसम्म एकताको सम्भावना छैन ।”

उनले राजपा नेपाल वैकल्पिक शक्ति निर्माणको दिशामा अगाडि बढेको भन्दै सरकारमा गएर वैकल्पिक शक्तिको निर्माण नहुने भएकाले समाजवादीसँग तत्काल एकता सम्भव नरहेको बताए । महतोले सरकार बाहिर रहेका सम्पूर्ण शक्तिलाई जनभावनाअनुरूप वैकल्पिक शक्ति निर्माणमा सहयोग गर्न आग्रह गर्दै भने, “लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादीलगायतका पार्टीसँग एकताको विषयमा कुरा अघि बढिरहेको छ ।”

मन्त्रिमण्डल पुनर्गठनको विषयमा उनले प्रतिपक्षी दल भएकाले पार्टीको चासोको विषय नभएको बताउँदै महतोले राजपाको सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको बताए । उनले संविधान संशोधन, आन्दोलनकारी साथीहरुविरुद्धको मुद्दा फिर्तालगायतका माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने बताए । उनले भने, “हाम्रो माग सम्बोधन नभएसम्म सरकारलाई समर्थन गर्न सक्दैनौँ, त्यसैले त सरकारबाट समर्थन फिर्ता लिएर प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौँ ।”