आर्थिक

सत्ताइस लाख राजश्व सङ्कलन

ललितपुर । उपत्यका पर्यटन कार्यालयले स्थापनाको दुई महिनामा रु २७ लाख राजस्व सङ्कलन गरेको छ । पर्यटन क्षेत्र सम्बन्धी एजेन्सीको दर्ता तथा पथप्रदर्शकको नवीकरण गरेबापत उक्त राजस्व सङ्कलन भएको हो ।

सङ्कलन गरिएको राजस्व प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पठाइने कार्यालय प्रमुख नवीन गिरीले जानकारी दिए । “देशभरिको पर्यटन क्षेत्रको ८० देखि ९० प्रतिशत काम यहाँबाट भइरहेको छ”, उनले भने । उपत्यकास्थित सो कार्यालय सबैको केन्द्रबिन्दु भएको उनको भनाइ थियो । उक्त कार्यालय गत असोज १ गते ललितपुरको हात्तिवनमा स्थापना गरिएको हो । पर्यटन कार्यालयमा ट्रेकिङ गाइड दर्ता तथा नवीकरण, ट्रेकिङ एजेन्सी दर्ता तथा नवीकरण, टुर गाइड दर्ता तथा नवीकरण, होमस्टे (घरबास) दर्ता, होटलका बस दर्तालगायत काम हुने गरेको छ ।