प्रदेश

प्रदेशका हरेक घर अभावरहित हुनुपर्छ : मुख्यमन्त्री पौडेल

हेटौँडा, ६ मङ्सिर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका हरेक घर अभावरहित हुनुपर्ने बताएका छन् । उनले नागरिकलाई खुशी बनाई समृद्धिको यात्रा तय गरिने उल्लेख गरे ।

मकवानपुरको भीमफेदी गाउँपालिकाको कोगटे–इपा क्षेत्रको अनुगमन भ्रमणपछि स्थानीयवासीसँग आज कुरा गर्दै मुख्यमन्त्री पौडेलले सरकार हरेक नेपालीको मुहारमा मुस्कान ल्याउन उद्यत रहेको बताए । उनले प्रदेशका हरेक घरमा खानेपानीको धारो हुनुपर्ने तथा हरेक घरमा बिजुली जोडिनुपर्ने उल्लेख गरे । “हरेक घरका बालबालिकाले पढ्ने वातावरण पाउनुर्प”, उनले भने ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विकासका कुनै पनि पूर्वाधारबाट कसैलाई पनि बञ्चित गर्न नहुने बताए । उनले सरकारले जिल्लाको विकासमा डेढ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको उल्लेख गरे । डेढ वर्षभित्र हेटौँडामा चिकित्साशास्त्रको अध्ययन सञ्चालन गर्ने गरी शिक्षण अस्पतालको शुरुआत भइसकेको, प्रतिवर्ष दुई हजार ५०० प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी प्राविधिक महाविद्यालय निर्माणको काम भइरहेको उनले जानकारी दिए ।

“कृषि उत्पादन वृद्धि गर्न सरकारले सिँचाइ, मलखाद, बीउ बिजन आदिको उचित व्यवस्थापन गर्नेछ”, मुख्यमन्त्री पौडेलले भने । पशुपालन, तरकारी खेतीजस्ता रोजगारमूलक कृषिका लागि अनुदान उपलब्ध गराउनुका साथै उत्पादित कृषिउपजको भण्डारणका लागि शीतभण्डार निर्माण र बजारीकरणको व्यवस्था गरिएको उनले बताए ।