राजनीति

नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने छः प्रधानमन्त्री ओली

काभ्रेपलाञ्चोक, ६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अब छोटो समयभित्र नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने बताएका छन् । काठमाडौँ विश्वविद्यालय (केयू)का कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आज धुलिखेलमा केयूको २५औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै अरुले बनाइदिने नभई नेपालीले नै नेपाल बनाउने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले देशको भविष्य उज्ज्वल रहेको बताउँदै भने, “हामीसँग सफल वर्तमान छ, भविष्य उज्यालो छ । अब ढुक्क भएर अगाडि बढ्न सक्ने क्षमता छ ।” नेपाल उर्वर देश भएकाले सबैखाले उत्पादन गर्न सक्ने क्षमता रहेको उनले स्पष्ट पारे । “हामी केही कारणले आर्थिक रुपमा पछाडि प¥यौँ तर अब सधैँ पछाडि पर्दैनौँ, हिजो पछाडि पर्नका लागि अनेकौँ कारणमध्ये शिक्षाको अभाव एउटा थियो”, उनले भने । प्रधानमन्त्री ओलीले सरकार गुणस्तरीय शिक्षा प्रदान गर्ने बाटामा जाँदै गरेको बताउँदै केयूमा आज दीक्षितमध्ये ५४ प्रतिशत छात्रा रहेकामा खुशी व्यक्त गरे । नेपालमा उत्पादित चिकित्सा जनशक्ति ‘ग्लोबल लेभेल’ को रहेको समेत ओलीले बताए ।

उनले भने, “यस्तो आकर्षणले बालिकाहरु विद्यालयबाट ड्रपआउट हुने ठूलो चिन्ता हट्दै जानेछ, जनशक्ति उत्पादनमा छात्राको सङ्ख्या बढ्नु पनि ठूलो खुशीको कुरा हो, हामी खुशी छौँ, देश खुशी छ ।” उहाँले नयाँ पुस्तालाई उत्साह र आत्मविश्वासका साथ अगाडि बढ्न पनि आह्वान गरे ।

सो अवसरमा भारतको जयपुरस्थित मणिपाल विश्वविद्यालय प्रमुख डा. के. रामनारायणले केयूसँगको सहकार्यमा मेडिकल क्षेत्रमा उल्लेख्य प्रगति भइरहेको गरे । उनले भने, “हामी दुई देशको मित्रतासँगै मेडिकल शिक्षामा पनि मित्रवत् रुपमा अघि बढिहेका छौँ, यो खुशीको विषय हो ।”