पु.समाचार

महासङ्घले दण्डहीनताको अन्त्य र प्रेस स्वतन्त्रताको रक्षाका लागि प्रदर्शन गर्ने

काठमाडौँ, ६ मङ्सिर । नेपाल पत्रकार महासङ्घले पत्रकार हत्या तथा प्रेस स्वतन्त्रता हनन्का घटनामा संलग्नलाई कारवाही गरी पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्न माग राख्दै प्रदर्शन गर्ने भएको छ । महासङ्घले ‘विश्व अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्ध दिवस’का अवसरमा यही मङ्सिर ८ गते उपत्यकासहित सातै प्रदेशमा दण्डहीनताको अन्त्य र प्रेस स्वतन्त्रताको रक्षाको लागि प्रदर्शन गर्ने आज जनाएको छ ।

महासङ्घको अभिलेखअनुसार नेपालमा विसं २०५२ देखि शुरु भएको सशस्त्र द्वन्द्वयता हालसम्म विभिन्न पक्षबाट ३७ जना पत्रकार मारिएका छन् भने पाँच पत्रकार बेपत्ता अवस्थामा छन् । मारिएका ३७ पत्रकारमध्ये पाँच पत्रकारको हत्यामा संलग्नलाई कारवाही गरी पीडित पक्षलाई न्याय दिलाइएको र चार जनाको न्यायिक प्रक्रियामा रहेको महासङ्घले जनाएको छ ।

अन्यको हकमा अझै प्रभावकारी ढङ्गले कानूनी कारवाही अघि बढ्न सकेको छैन । बेपत्ता भएका पाँच जना पत्रकारको अवस्था अहिलेसम्म पत्ता लाग्न नसकेको र पीडित परिवारले न्याय नपाएको महासङ्घद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

महासङ्घको सञ्चार अनुगमन एकाइका अनुसार २०७४ सालमा ६३ वटा र २०७५ सालमा ६० वटा तथा २०७६ वैशाखदेखि हालसम्म २६ वटा प्रेस स्वतन्त्रता हनन्का घटनाहरु अभिलेख भएका छन् । प्रेस स्वतन्त्रता हनन्का घटनाहरुमा पत्रकारमाथि धम्की, दुव्र्यवहार, आक्रमण, समाचार सङ्कलनमा अवरोध जस्ता घटनाहरु बढी भएको महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पत्रकारलाई राजनीतिक आस्थाका आधारमा पक्राउ गर्ने क्रम बढ्दो क्रममा रहेको विज्ञप्तिमा उल्लेख छ ।

द्वन्द्वकाल मारिएका पत्रकारका परिवारलाई न्याय र दोषीलाई कारवाहीका लागि महासङ्घले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएको भए पनि गम्भीर छानबिन र थप प्रक्रिया अघि बढ्न सकेको छैन । त्यस्तै बेपत्ता पत्रकारको हकमा पनि सत्यतथ्य पत्ता लगाउने विषयमा ठोस प्रगति नभएको महासङ्घले जनाइएको छ ।