लुम्बिनी

सैनामैना नगरपालिकाका सडकको सर्वे शुरु

खस्यौली, । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेका सडकको सर्वे शुरु भएको छ । सडक विभागका पूर्वनिर्देशक गम्भीर श्रेष्ठको नेतृत्वमा सडक विभागका पूर्वनिर्देशक भोजबहादुर ढकाल, इन्जिनीयरद्वय आशिष पौडेल र सुयोग्य केसी तथा नगरपालिकाका योजना शाखा प्रमुख सुरज न्यौपाने लगायतको टोलीले बिहीबारदेखि सर्वे शुरु गरेको हो ।

नगरप्रमुख चित्रबहादुर कार्कीले सर्वेक्षणबाट नगरमा रहेका विभिन्न सडकको अवस्था जानकारी हुने र सडकमा गर्नुपर्ने आवश्यक मर्मतसम्भार र योजना बनाउनसमेत सहज हुने बताए । नगरपालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले नगरको यातायात क्षेत्रको दीर्घकालीन विकास गर्ने योजनाअनुसार नगरभित्र रहेका बाटोको सर्वेक्षणले आगामी दिनमा थप योजना बनाउन सहज हुने बताएका छन् ।

सडक विभागका पूर्वनिर्देशक श्रेष्ठले स्थानीय सडकको सूची तयार गर्ने, सडकको शुरु र अन्तिम अवस्था पत्ता लगाउने, सडकको नाम, अवस्था, लम्बाइ, चौडाइ, कल्भर्ट, पुलको वास्तविक अवस्था लगायतका विषयमा सर्वेक्षण गरिने बताए । सैनामैना नगरपालिकामा रहेको विभिन्न मुख्य तथा भित्री १५ वटा महत्वपूर्ण सडकको अहिले सर्वेक्षण गरिने नगर योजना शाखाप्रमुख सुरज न्यौपानेले जानकारी दिएका छन् ।

समझदारीपत्रमा हस्ताक्षर

सैनामैना नगरपालिका र प्रदेश नं ५ को भौतिक पूर्वाधार विकास मन्त्रालयबीच खानेपानीको शुद्धताका लागि ‘वास’ योजनाको समझदारी पत्रमा बिहीबार हस्ताक्षर भएको छ । सैनामैना क्षेत्रको खानेपानी सरसफाइ तथा स्वच्छताका लागि प्रदेश नं ५ बुटवलले तयार पारेको पालिकास्तरीय वास योजना तर्जुमा निर्देशिकामा आधारित रहेर नगर र मन्त्रालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका तर्फबाट नगरप्रमुख चित्रबहादुर कार्की र प्रदेश सरकारका तर्फबाट मन्त्रालयका कार्यालय सचिव नुर मुहम्मद खाँले हस्ताक्षर गरे । समझदारीपत्रमा हस्ताक्षर गर्दै नगरप्रमुख चित्रबहादुर कार्कीले पालिकास्तरमा विद्यमान खानेपानी तथा सरसफाइ योजनाहरुको विवरण सङ्कलन गर्नाका साथै घरधुरीहरुको सर्वेक्षण गरी विद्यमान खानेपानी, सरसफाइ तथा स्वच्छताको सुविधास्तर वर्गीकरण गर्नु नै यो योजनाको प्रमुख उद्देश्य रहेको बताए ।

उनले खानेपानीको उपलब्धता के कस्तो छ, पानीको शुद्धता र सरसफाइसम्बन्धी जनचेतना फैलाउन उक्त योजनाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् । सैनामैना नगरपालिकालाई स्वच्छ र सुन्दर बनाउने योजनाअनुसार प्रदेशको भौतिक तथा पूर्वाधार मन्त्रालय अन्तर्गतको वास कार्यक्रमसँग सम्झौता गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

मन्त्रालयका सचिव नुरमुहम्मद खाँले मन्त्रालयमा रहने परामर्शदाता र पालिकास्तरमा रहने वास संयोजक छनोट र पालिकास्तरमा सञ्चालन गर्ने कार्यशाला गोष्ठीका लागि प्रविधि तथा आर्थिक सहयोग गर्ने लगायतका जिम्मेवारी प्रदेश सरकारको रहेको उल्लेख गरे ।