समाचार

कार्तिक २६ गतेदेखी बन्द भद्रपुर विमानस्थल आजदेखी पुनः सञ्चालनमा

भद्रपुर । गत कार्तिक २६ गतेदेखी बन्द रहेको भद्रपुर विमानस्थल आजदेखी पुनः सञ्चालनमा आएको छ । र्ममत स्तरोन्नतिका लागि कार्तिक २६ गतेदेखी मंसिर ५ गतेसम्म उक्त विमानस्थल पुर्ण रुपमा बन्द भएको थियो ।

झापाको चन्द्रगढी नागरिक उड्यन कार्यालयले धावनमार्गको मर्मतसंगै स्तरोन्नति कार्य सम्पन्न भएसंगै विमानस्थल सञ्जचालनमा आएको हो ।  ‘निर्माण कम्पनीले १० दिनको अवधिमा रातदिन खटेर काम गरेर कार्य सकेको हो,’ चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले भने, ‘आजदेखि पुनः विमानस्थल आएको छ ।

अबदेखि नियमित उडान हुन्छ ।’ विमानस्थलको १५ सय मिटर लम्बाई र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बनेको थियो। जीर्ण बनेपछि धावनमार्ग १२ वर्षपछि मर्मत गरिएको हो । धावनमार्ग मर्मत सम्भारसँगै स्तरोन्नतिका लागि १० करोड २३ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । 

विमानस्थलमा इन्धन सेवा, वारुणयन्त्र, धावनमार्ग बिस्तार, भवनको स्तरोन्नतिलगायतका काम गरिएको हो । भद्रपुर विमानस्थल बन्द हुँदा हवाई यात्रु विराटनगर भएर काठमाडौँका लागि उडान भर्दै आइरहेका थिए ।