अन्तर्राष्ट्रिय

जोन्सन एन्ड जोन्सन विरुद्ध अस्ट्रेलियाली अदालतको फैसला

एजेन्सी । अस्ट्रेलियाका १ हजार ३५० भन्दा बढी महिलाले बहुराष्ट्रिय कम्पनी जोन्सन एन्ड जोन्सन (जेएन्डजे) माथिको सामूहिक मुद्दा बिहीवार जितेका छन् ।

मूत्र प्रणालीको सर्जरीमा प्रयोग गरिने साधनको जोखिमबारे गलत प्रचार गरेको भन्दै कम्पनीमाथि मुद्दा परेको थियो । लामो समयदेखि चलेको यो ‘क्लास एक्शन’ मुद्दामा जेएन्डजेको विरुद्धमा अदालतले फैसला सुनाएको हो ।

जेएन्डजेका अन्य उत्पादनविरुद्ध पनि विभिन्न किसिमको मुद्दा छ । जेएन्डजेको उक्त साधनको प्रयोगपछि अत्यधिक दुखाइ हुने, रगत बग्ने र यौन जीवनमा पनि असहज महसुस भएको केहीले बताएका थिए । अदालतले जेएन्डजेले आफ्नो उत्पादनबारे दिएको जानकारी सही नरहेको र गलत कुरालाई देखाएको बताएको छ । अदालतले आगामी वर्ष यसको क्षतिपूर्तिको आकलन गर्नेछ ।

गत अक्टोबरमा पनि जेएन्डजेले ४१ अमेरिकी राज्यमा यस्तै प्रकृतिको पेल्भिक मेसबारे लगाइएको मुद्दा सुल्झाउन ११ करोड ७० लाख डलर बुझाएको थियो । उसले क्यानडा र यूरोपमा पनि यो मुद्दा खेपिरहेको छ । जेएन्डजेले हजारभन्दा बढी मुद्दा खेपिरहेको छ ।

मानिसहरूले उसको उत्पादनको कारण क्यान्सरको जोखिम पनि हुनसक्ने भन्दै मुद्दा दायर गराएका हुन् । जेएन्डजेलाई एक व्यक्तिले दायर गरेको अर्को मुद्दामा ८ अर्ब डलर क्षतिपूर्तिका लागि निर्देशन दिइएको छ । उक्त व्यक्तिले आफूलाई जेएन्डजेको एन्टी–साइकोटिक ड्रग्सको कारण छातीको आकार बढ्नसक्ने चेतावनी कम्पनीले नदिएको दाबी गरेका थिए ।  एजेन्सी