साहित्य

मेरो प्रिय कालापानी !

-गुरुराज घिमिरे                                                                                                                                          -कविता

तिम्रो अस्तित्व लुट्न खोज्ने
लुटेराको बिगबिगी भएको बेला
तिम्रो करेसाबारीमा स्याल र गिद्धहरू
नाचिरहेको बेला
मेरो रगत सापटी मागेर
कारगिल, लद्दाख र सियाचिन जोगाउने
मेरो धमनी सुकाएर आफ्नो मुटु भर्ने
मेरा गोर्खालीहरूको छातिलाई ढाल बनाएर
आफ्नो मौजा जोगाउने
र मलाई सुकुम्बासी देख्न खोज्ने
तीनैं परचक्रीहरूको
तिम्रो छातिमा बुट बजारिएको बेला
तिम्रो आकाशमा तिनै बैगुनिहरूको
प्रेतात्मा नाचिरहेको बेला
एउटा सन्देश पठाउँदै छु तिमीलाई
सानो चिठ्ठी लेख्दैछु
मेरो मुटुको टुक्रा कालापानी!


तिम्रो सतित्व हरण गरेर
आफ्नो क्षुधा मेटाउन खोज्ने
दानवहरूबाट कहिल्यै नडराउनु
कत्ति पनि विचलित नहुनु
रामनामी ओढेर सधैं
पुर्विय सभ्यता र संस्कृतिको
सदावहार गीत गाउने
छद्मभेषी नक्कली देवताबाट
नतर्सिनु कहिल्यै पनि
हिउँ ओढेर लिपुलेकको
वर्षात नुहाएर लिम्पियाधुराको
चढ्नु पर्छ शिखर अपि हिमालको
पत्थर जम्मा गरेर राख्नु
साँचेर राख्नु उच्च आत्मबिश्वास
सिस्नो र अरिगाल पनि जोगाउनु
खनिनु पर्छ एकैसाथ
को को छन जिउँदै थाहा छैन
तर बलभद्रका सन्तानहरू
अझै भएजस्तो लाग्छ
अमरसिंह र भक्ति थापाको अस्तित्व
नयाँ पुस्तामा सरेजस्तो छ
पटक्कै हरेस नखानु
हाम्रा बैरीहरू साच्चै कायर छन
हाम्रै बलमा स्वतन्त्र भएका
मुक्ति पाएका गुलामीबाट
तिम्रो अटल ब्यक्तित्व सामु
कावा खानेछन सधैं
सिमलको भुवा झैं उड्नेछन
निलगगनमा बेपत्ता
तिम्रो अनुहारको रापले
खुइलिने छन तिनका रंगहरू
तिम्रो ब्यक्तित्वको प्रतापले
गल्नेछन तिनका अंगहरू
मेरो प्रिय कालापानी!


तिम्रो छातीमा हाम्रा पुर्खाहरूको
असंख्य पदचाप छन
हाम्रो शरिरबाट सधैं
तिम्रो शरिरको सुगन्ध आउँछ
कहाँ दिन्छौं र हामी यो सुगन्ध मेट्न
उनिहरू फर्किनै पर्छ आफ्नो सरहदमा
तिमी चम्किरहने छौ चीरकाल पर्यन्त
आफ्नै गोडामा उभिएर
आफ्ना सन्तानहरूको असिम प्रेमले
आल्हादित हुदै
तिमी गम्किरहने छौ शदियौ सम्म
इतिहासको गौरव र बहादुरीले
तिम्रो नाता सुदुरसम्म छ
आवश्यकता पर्यो भने कदाचित
फैलने छ नालापानीसम्म
अनि टिष्टा र गंगासम्म
चिन्ता नगर प्रिय कालापानी!


तिमी आमा हौ हाम्री
तिम्रो वक्षस्थलमा
बैरिले नारेका हलगोरूबाट
जोत्न दिन्नौं तिम्रो कोमल छाति
ढोंगी र पाखण्डीहरुलाई धपाएर
गाड्ने छौं हाम्रो सौर्यको झण्डा
कायम राख्नछौ तिम्रो अस्तित्व
पहिचान र स्वतन्त्रता!!