गण्डकी प्रदेश

घरदैलोमा सहभागी बन्दै नेता थापाको दाबीः उपनिर्वाचनको परिणाम काँग्रेसका पक्षमा

पोखरा । पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता यज्ञबहादुर थापाले आउँदो उपनिर्वाचनको परिणाम काँग्रेसका पक्षमा हुने बताएका छन् । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत आज पोखरा महानगरपालिका वडा नं ४ मा घरदैलोमा सहभागी बन्दै उनले जनता सरकारका गतिविधिप्रति निराश भएका कारण काँग्रेसप्रति आकर्षण बढिरहेको जिकिर गरे ।

पार्टीका नेता कार्यकर्ता एकताबद्ध भएको चर्चा गर्दै उनले व्यापारी, उद्योगपति, पेशाकर्मी, कर्मचारी सबैको साथ र सहयोग यसपटक काँग्रेसलाई हुने विश्वास व्यक्त गरे । गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले काँग्रेससँग जनताले धेरै भरोसा गरेको बताए । कर वृद्धि, महङ्गी, भ्रष्टाचारबाट जनताले उन्मुक्ति चाहेको उहाँले धारणा राखे ।

कास्की क्षेत्र नं २ मा काँग्रेसले चुनाव प्रचारप्रसारका कार्यक्रमअन्तर्गत आजदेखि दोस्रो चरणको कार्यक्रम सक्दैछ । गत कात्तिक २१ गतेदेखि शुरु भएको अभियानअन्तर्गत आज पोखरा महानगरपालिका वडा नं १६ अर्मलामा घरदैलो गरी दोस्रो चरण सक्ने र भोलिदेखि तेस्रो चरणको कार्यक्रम थाल्ने प्रचारप्रसार मूल समितिका संयोजक एवं कास्की काँग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।

पहिलो र दोस्रो चरणमा अधिकांश मतदातासँगको भेटघाट सकिएको जानकारी दिँदै उनले तेस्रो चरणको कार्यक्रम चुनावीसभामा केन्द्रित हुने बताए । पार्टीका उच्च तहका नेता सहभागी बन्ने चुनावी सभामार्फत जनताका समस्या, वर्तमान राजनीतिक परिवेशबारे पार्टीको धारणा प्रस्तुत गर्दै उम्मेदवारमार्फत यहाँको समृद्धि र विकास प्रतिबद्धता प्रस्तुत गरिने पार्टीले जनाएको छ ।