राजनीति

सीमाको विषयमा सरकार गम्भीर बन्नुपर्छ : नेता बोहरा

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले भारतले सीमा मिचेको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएकाछन् । रिपोर्टर्स क्लब दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताए । भारतले लिम्पियाधुरा, लिपुलेक, कालापानी मिचेर नक्सा सार्वजनिक गरेको भन्दै यसमा सरकार गम्भीर बन्नुपर्ने बताए । ‘पहिलोपटक सर्वदलीय बैठकले सरकारलाई समर्थन गरेको छ, यस्तो अवस्थामा पनि सरकारले भारतसँग वार्ता गर्न सकेको छैन’, उनले भने ।

उनले अहिले नेपालमा जबरजस्ती धर्म परिवर्तन गर्ने ठूलो गिरोह सक्रिय भएको भन्दै यसले धर्मयुद्ध निम्त्याउन सक्ने धारणा राखे । नेता बोहराले पूर्वराजालाई पनि संविधानको परिधिमा ल्याउनुपर्ने बताए ।
त्यस अवसरमा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेलले यो निर्वाचन ‘मिनी’ जनमतसङ्ग्रह भएको बताए । वर्तमान सरकारले गरेका काम र प्रतिपक्षले निर्वाह गरेको भूमिकाको मूल्याङ्कन गर्न उपनिर्वाचनको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।

उनले राप्रपा, नेकपा र काङ्ग्रेसको विकल्पको रुपमा आएको बताए । त्यस अवसरमा राप्रपाको तर्फबाट दाङ क्षेत्र नं ३ को प्रदेशसभा २ का उम्मेदवार भुपाल रावतले आफूले यस क्षेत्रमा जित हासिल गरेमा यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।