समाचार

दुई छुट्टा– छुट्टै स्थानमा भएको दुर्घटनामा परि दुई को मृत्य

राजपुर । मुलुकको दुई छुट्टा– छुट्टै स्थानमा भएको दुर्घटनामा परि २ को मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका–३ पुरानो सरजु नदी हुलाकी सडकमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुलरिया नगरपालिका–१ का ३५ वर्षीय राजेश यादव रहेका छन् । खैरापुरदेखि गुलरियातर्फ गइरहेको भे ४ प ७२१७ नंको मोटरसाइकल नालामा पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिएका छन् ।

यस्तै कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा जिपकोे ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–२ बस्ने ३४ वर्षीय देवराम टमटा रहेको छ ।

कञ्चनपुरको झलारीबाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नंको महिन्द्रा जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका टमटाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

टाउको र शरीरमा गम्भीर चोट लागेका टमटाको अत्तरियास्थित पद्मा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको तथा ठक्कर दिने जिप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताएका छन् ।