राजनीति

राजीनामा दिन प्रधानमन्त्रीले गरेको आग्रहलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले गरिन् अस्वीकार

४ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम घडीमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीले बुधबार विहान भेटेर उपसभामुख तुम्बाहाम्फेलाई राजीनामापछि मन्त्री बनाउने आश्वासन दिएका छन् । तर तुम्बाहम्फेले भने ‘सभामुख पनि नरहेकाले संसद खाली नगरौं’ भन्दै राजीनामा दिन अस्वीकार गरेको स्रोतको दाबी छ ।

संसद सचिवालयकी एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा तत्कालिन सभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि उक्त पद रिक्त छ । उपसभामुख तुम्बाहाम्फेले महरा पक्राउपछि आफू सभामुख बन्न योग्य भएको भन्दै सभामुख बन्ने पक्का भए मात्र उपसभामुख पदवाट राजीनामा दिने बताउदै आएकी छन् । नेकपाले भने सभामुख पदमा नँया नियुक्ति गर्ने र उपसभामुख अरु पार्टीको लागि दिने निर्णय गर्दै आएको छ ।

तत्कालिन माओवादी केन्द्रको भागमा परेको उक्त सभामुख पद महराको पक्राउपछि पनि पुर्व माओवादीकै हुनुपर्ने अडान छ । पुर्व माओवादीको भागमा परेकोले पनि उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउन आग्रह गर्दै आएको छ । उपसभामुख तुम्बाहाम्फे पुर्व एमाले हुन् ।