प्रदेश 1

नगरपालिकाको पहलमा जिल्ला अस्पतालमा चिकित्सक

सोलुखुम्बु । जिल्ला अस्पताल फाप्लुमा करीब तीन हप्तापछि चिकित्सकको व्यवस्था गरिएको छ । सोलुदूधकुण्ड नगरपालिकाले छ महिनाका लागि चिकित्सकको व्यवस्था गरेको जनाएको छ ।

नगरपालिकाले नियुक्त गरेका डा स्मृति गौतमले आइतबारदेखि सेवा दिन थाल्नुभएको अस्पतालले जनाएको छ । अब भने सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको सेवाग्राहीको भनाइ छ ।

जिल्लामा चिकित्सक नहँुदा स्वास्थ्यचौकीसरह तीन हप्तादेखि सेवा दिँदै आएको अस्पतालले अब भने सहज सेवा दिने स्थानीयवासीको विश्वास छ ।

फाप्लु अस्पताल परिसरमा भेटिनुभएका वडा नं ११ तिङलाका दानबहादुर बस्नेतले चिकित्सक नहुँदा उपचार हुन्छ भन्ने ग्यारेण्टी नहुने भन्दै अब भने ढुक्क भएको बताए ।

कुनै बेला बिरामीले खचाखच भरिने अस्पतालमा अहिले बेड भर्ना हुने बिरामी सङ्ख्या शून्य छ भने ओपिडी सेवा लिनेको सङ्ख्यासमेत ५० प्रतिशतले घटेको छ ।  गाउँगाउँका स्वास्थ्यचौकीले सिफारिश गर्ने बिरामी जिल्ला अस्पताल आउने भए पनि चिकित्सक नहुँदा त्यत्तिकै जिल्ला बाहिर जानुपरेको थियो ।

नगरपालिकाले चिकित्सकको व्यवस्था गरेसँगै अब त्यसको समेत अन्त्य भएको माप्यदूधकोशी गाउँपालिका–३ बाट आएका मनिष शासंकरको भनाइ छ ।

कुनै समय पाँच चिकित्सकले सेवा दिएको अस्पतालमा एकाएक सेवा प्रभावित हुँदा सङ्घीयताप्रति असन्तुष्ट बनेकाहरु चिकित्सक आएसँगै गुणस्तरीय सेवा पाउने आशामा छन् ।

सोलुदूधकुण्ड–४ फाप्लुका पेम्बा शेर्पा भन्छन्, “सामान्य उपचारका लागि जिल्ला बाहिर जाने समस्याको अन्त्य भयो ।”

स्वास्थ्यकर्मीको समायोजनसँगै चिकित्सक अभाव

स्वास्थ्यकर्मीको समायोजनसँगै जिल्ला अस्पतालमा चिकित्सकको अभाव भएपछि यहाँका नागरिकले सास्ती खेप्नुपरेको छ । कुनै समय ११औँ तहका चिकित्सकसहित ३५ दरबन्दी रहेको जिल्ला अस्पताल प्रदेश सरकार मातहतमा गएपछि नवौँ तहका चिकित्सकसहित १८ दरबन्दीमा खुम्चिएको छ ।

प्रदेश सरकारले समेत नवाौँ तहका सहित दुई चिकित्सक यही हप्ताभित्र पठाइसक्ने जनाएको छ । माथिल्लो तहका सबै चिकित्सक करारमा हुने र तल्लो तहका कर्मचारी दरबन्दीको हुँदा कसको नेतृत्व रहने भन्ने अझै अन्योल छ ।