स्वास्थ्य

अझै सञ्चालनमा आएन अस्पताल

दमक । झापाको गौरीगञ्ज गाउँपालिका–६ स्थित साविकको खजुरगाछीमा निर्माण गरिएको अस्पतालको सुविधासम्पन्न भवनमा उपचार सेवा अझै शुरु हुनसकेको छैन ।

सरकारको करोडौं लगानीमा निर्माण गरिएको सो अस्पताल नियमितरूपमा सञ्चालन नहुँदा त्यस क्षेत्रका सेवाग्राही अन्यत्र पुगेर सेवा लिन बाध्य हुँदै आएका छन् ।

करीब आठ वर्षअघि निर्माण शुरु भई पटक–पटक म्याद थप गरेर छ महिनाअघि मात्र अस्पतालको तीनतले पक्की भवन निर्माण सम्पन्न गरिएको थियो । सो भवन स्थानीय सरकारलाई हस्तान्तरण भइसके पनि अस्पतालको सेवा सञ्चालन हुन सकेको छैन ।

खजुरगाछी बजारबाट करीब एक किलोमिटर टाढा सोही ठाउँका श्याम चौधरीले सार्वजनिक प्रयोजनका लागि उपलब्ध गराएको सात बिघा जग्गामा रहेको सो अस्पतालमा चिकित्सकको दरबन्दी र एकान्त ठाउँमा रहेका कारण मजबुत सुरक्षा व्यवस्थाको अभावमा अस्पतालको सेवा सञ्चालन हुन नसकेको अस्पताल सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका वडा नं ६ का अध्यक्ष बद्रीनारायण यादवले जानकारी दिएका छन् ।

उनले भने, “अस्पतालको भवन त बनेको छ, तर अस्पतालअनुसार एक जना एमबीबीएस चिकित्सकसहित अन्य विभागमा पनि पर्याप्त जनशक्ति आवश्यक हुन्छ, चिकित्सक भए अन्य उपकरण तथा फर्निचरका सामान हामी आफैँले बन्दोबस्ती गरेर सेवा दिन सकिन्छ ।

एमबीबीएस चिकित्सकको दरबन्दी नभएकै कारण त्यहाँ सरकारको करोडौँ लगानी रहेको अस्पताल भवन र सामाग्रीमा उपयोगविहीन अवस्थामा पुगेको भन्दै स्थानीयवासीले तत्काल अस्पतालको सेवा सञ्चालन गर्न माग गर्दैआएका छन् ।