कर्णाली प्रदेश

हुम्लामा उपनिर्वाचन २०७६ः १ सय १६ सुरक्षाकर्मी खटिए

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकामा यही मङ्सिर १४ गते हुनलागेको उपनिर्वाचनका लागि ११६ सुरक्षाकर्मी खटिएका छन् ।

खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमालको याङचुबगरमा गत असार ३ गते जिप दुर्घटनामा परी मृत्यु भएपछि उपाध्यक्ष पदका लागि यहाँ उपनिर्वाचन हुनलागेको हो ।

जिल्लामा रहेका सुरक्षाकर्मीले नपुग्ने भएपछि सुरक्षालाई थप व्यवस्थित र निर्वाचनलाई मर्यादित बनाउन जिल्ला बाहिरबाट ११६ सुरक्षाकर्मी हुम्ला पुगेर सो गाउँपालिकामा खटाइएको सुरक्षा व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिएका छ ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयमा खाली कोटाका लागि माग गरिएको भए पनि ५० प्रहरी जवान पुगेका उनले बताए । यसैगरी सशस्त्र प्रहरी बलका ६६ सुरक्षाकर्मी सिमकोट पुगेका उनले जानकारी दिएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ११६ जना जिल्ला सदरमुकाम पुगेर उक्त गाउँपालिकामा पठाइसकिएको नले बताए । जिल्लामा पुगेका दुई सुरक्षा निकायका सुरक्षाकर्मी गाउँपालिकाका पाँच मतदान केन्द्रमा खटाइसकेको प्रजिअ भट्टराईले जानकारी दिए ।

उक्त गाउँपालिका सधैँ चुनावका समयमा बढी धाँधली हुनेमा गनिने भएकाले बढी सुरक्षाकर्मी खटाइएको हो ।

उपनिर्वाचनका लागि सो गाउँपालिकाका पाँच वडामा रहेका पाँचै मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिएका छन् ।