अन्तर्राष्ट्रिय

दुर्घटनामा परी लिबियामा नौ महिनामा चौध सयको मृत्यु

एजेन्सी । लिबियामा गत नौ महिनामा भएका सवारी दुर्घटनामा परी १४ सय भन्दा बढीको मृत्यु भएको छ । गृह मन्त्रालयले सोमबार सार्वजनिक गरेको एक विवरणअनुसार सन् २०१९ को जनवरीदेखि सेप्टेम्बर महिनासम्ममा उनीहरुको मृत्यु भएको हो ।

“गत जनवरीदेखि सेप्टेम्बरसम्म ११ सय १५ ओटा सवारी दुर्घटना भएको विवरण छ, ती दुर्घटनाहरुमा परी १४ सय ९ जनाको मृत्यु भएको देखिएको छ,” मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

ती दुर्घटनाहरुमा परी ३१ सय १ जना घाइते भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । असिमित र अनियन्त्रित गति, चालकमा पर्याप्त सिपको अभाव, सवारी साधन र सडकको खराव अवस्था, चालकको एकाग्रतामा कमीलगायतका कारणले लिबियामा धेरै दुर्घटना हुने गरेको बताइएको छ ।

गृह मन्त्रालयले ट्राफिक नियमको पूर्ण पालना गर्न र सवारी चलाउदा सतर्कता अपनाउन सवारी चालकहरुलाई आग्रह गरेको छ । यसअघि सन् २०१८ मा सवारी दुर्घटनाकै कारण लिबियामा झण्डै २५ सय जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।