अन्तर्राष्ट्रिय

इरानमा मूल्य वृद्धिको विरोधमा प्रदर्शन, दमनप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त

एजेन्सी । पेट्रोलको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गर्ने क्रममा दर्जनौँ इरानी मारिएको समाचारप्रति मङ्गलबार राष्ट्रसङ्घले गहिरो चासो व्यक्त गरेको छ । पेट्रोलको मूल्यवृद्धिविरूद्ध इरानमा शनिबारदेखि प्रदर्शनहरू हुँदै आएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विरोधका क्रममा दर्जनौँ व्यक्तिको मृत्यु भएको र एक हजार प्रदर्शनकारीलाई पक्राउ गरिएको बताइएको छ ।

स्लामिक गणतन्त्र इरानले गत बिहीबार पेट्रोलको मूल्य २०० प्रतिशतले वृद्धि भएको घोषणा गरेपछि नागरिकहरू आन्दोलित भएका हुन् । इरानमा अमेरिकी नाकावन्दीका कारण आर्थिक मन्दीको अवस्था सिर्जना भएको छ । पेट्रोलका लागि धनी मानिने इरानले सोही वस्तुमा गरेको मूल्यवृद्धिपछि नागरिकहरू आन्दोलित बनेका हुन् ।

“खासगरी तेलको मूल्य वृद्धिप्रति असन्तुष्टि प्रकट गर्दै विरोधमा उत्रिएका नागरिकमाथि सरकारी सुरक्षाकर्मीले गरेको दमन र यसका क्रममा भएको मानवीय क्षतिप्रति संयुक्त राष्ट्रसंघ मानव अधिकार कार्यालय गम्भीर बनेको छ,” प्रवक्ता रूपर्ट कोलभिलले पत्रकारलाई बताए ।

इरानमा प्रदर्शन शुरू भएपछि इन्टरनेट सेवा प्रयोगमा कडाई गरिएको छ जसका कारण यहाँका गतिविधि बाहिर आउन कठिनाई भएको छ । कोलभिलले इन्टरनेट सेवामा गरिएको नियन्त्रणका कारण प्रदर्शनमा भएका मानवीय क्षतिलाई पुष्टि गर्न कठिनाई भइरहेको बताएका छन् ।

उनले भने, “केही इरानी सञ्चारमाध्यम र अन्य स्रोतहरूले दिएको जानकारी अनुसार दर्जनौँ व्यक्ति मारिएका र एक हजारभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ ।”“हामीले इरानी अधिकारी तथा सुरक्षाकर्मीलाई शान्तिपूर्ण विरोधमा बल प्रयोग नगर्न आग्रह गर्छौ ।

प्रदर्शनकारीले पेट्रोलको मूल्यवृद्धि फिर्ता गर्न भन्दै गरेका विरोध कार्यक्रमका शिलशिलामा कैयौँ पेट्रोल स्टेसन, बैङ्क तथा सार्वजनिक कार्यालय तथा तीनका सम्पत्तिलाई तोडफोड गरेका समाचारहरू बाहिरिएका छन् । कोलभिलले प्रदर्शनकारीलाई आफ्ना विरोधका कार्यक्रमलाई शान्तिपूर्ण बनाउनसमेत आग्रह गरेका छन् ।