पु.समाचार

डोल्पामा भगवान पनि चोरी हुँदै

जाजरकोट । डोल्पामा भगवान पनि चोरी हुने गरेको छन् । चौधौँ शताब्दीमा स्थापना गरिएको गुम्बाका मूर्र्ति तथा अन्य सामग्री चोरी हुन थालेपछि स्थानीयवासीलाई संरक्षणमा समस्या भएको छ ।
डोल्पोबुद्ध गाउँपालिकाको धो गाउँमा भगवान नै चोरी हुने भएपछि स्थानीयवासीले घरमा ल्याएर सुरक्षा गर्न बाध्य भएका छन् । धोस्थित झ्याम्पा गुम्बा, सेरिङ गुम्बा, मेकिङ च्याङचु छोइलिङ, टाकमार देवा, डोल्पा मेन्चीखाङगलगायत गुम्बाका बहुमूल्य बुद्धमूर्ति अन्य सामग्री चोरी निकासी बढेपछि स्थानीयवासीले घरमा ल्याएर सुरक्षा गर्न लागिएको बताउँछन् ।
पूजाआजा गर्ने समयमा मात्र गुम्बामा लिएर आउने र सकिएपछि घरमा लिएर जाने गरिएको स्थानीयवासी तम्सु गाल्वा लामाले बताए । आधाभन्दा बढी मूल्यवान सामग्री हराइसकेको ङ्वाङ लुम्डुप गुरुङको भनाइ छ । गुम्बाभित्र ऐतिहासिक मूर्ति, लिपि, बहुमूल्य धातु, पेन्टिङ, बुद्धको अस्तुलगायत सामग्री राखिएकाले संरक्षणमा समस्य भएको छ ।
अघिल्लो वर्षमा मात्र शे–फोक्सुन्डो गाउँपालिकाको राहत गुम्बाबाट ४२ वटा बुद्ध मूर्ति चोरी गरेको भन्दै जनप्रतिनिधि नै पक्राउमा परेका थिए । अहिले उपल्लो डोल्पाका छ वटा प्रहरीचौकी चिसोका कारण सदरमुकाम दुनैमा विस्थापित भएपछि झन् सुरक्षा चुनौती थपिएको गुम्बाक गुरुङले बताए ।

उपल्लो डोल्पा बौद्ध गुम्बा धेरै भएको ठाउँको रुपमा गणना हुने गर्दछ । बौद्धदर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका अनुसार डोल्पामा १०७ वटा गुम्बा दर्ता भएका छन् । सडक सञ्जालले नछोएको र अत्यधिक विकट भएकै कारण यहाँ चोरी, निकासी गर्नेलाई थप बल पुगेको छ ।
गर्मीयाममा मात्र यहाँका स्थानीयवासी उपल्लो डोल्पामा बस्छन् भने चिसो मौसममा बेँसी झर्ने भएकाले मानिसको कम चहलपहल भएको मौका छोपी चोरी निकासी बढेको छ । डोल्पोबुद्ध, छार्का ताङसोङ, शे फोक्सुन्डोलगायत स्थानीय तह निकै दुगर्ममा पर्दछन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारका अनुसार मूर्ति चोरीका आरोपमा अहिले गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्षलगायतको टोलीमा माथि अदालतमा मुद्दा चलिरहेको छ । पुर्पक्षका लागि थुनामा रहेको रहेको उनले बताए ।
उनले भने, ‘अहिले उपल्लो डोल्पामा रहेका बुद्धमूर्र्ति, गुम्बाको संरक्षणका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल चरिरहेको छ, जिल्ला सुरक्षा समितिको बैठक बसेपछि त्यहाँको सुरक्षाका लागि छिट्टै निर्णयमा पुगिने छ ।’ अहिले उपल्लो डोल्पामा हिमपात कारण जान सक्ने अवस्था नभएका कारण त्यहाँको सुरक्षाका लागि विशेष योजना बनाएर काम गर्ने भन्नेमा हामी रहेको छौँ, यहाँले भने ।

चिनियाँ सीमा नाका नजिक भएकै कारण चोरी निकासी नियन्त्रणमा थप समस्या भएको छ । समूहमा आउने डाँकाको समूहले गुम्बामा रहेका लामालाई बाँधेर चोरी गर्दै आएका छन् । यहाँ रहेका बुद्धमूर्र्ति कति मात्रामा छन् र कसरी राखिएका छन् भन्ने अझै यकिन हुन सकेको छैन ।