स्वास्थ्य

युवापुस्तामा बढेको मदिराको लतले स्वास्थ्यमा पार्ने गम्भीर असरहरु

काठमाडौं । फिजिसियन डा. रवीन्द्र पाण्डेले मदिराको अत्यधिक प्रयोगले कलेजो, आन्द्रा, मिर्गौला, स्नायु प्रणालीमा असर पर्ने बताए । मोटो शरीर भएका व्यक्तिले धेरै मदिरा सेवन गरेमा कोलेस्टोरलको मात्रा बढेर हृदयाघात हुने बताउँदै डा. पाण्डेले आँखाको शक्ति पनि कमजोर हुने बताए ।मदिरा प्रयोग गरिरहेको मान्छेले झट्टै छोड्दा हात काम्ने, आँखाले नदेख्नेजस्ता समस्या आउने हुनाले यसलाई कम गर्दै थोरै मात्रामा सेवन गरी बिस्तारै छोड्नुपर्ने उनको सुझाव छ ।

मदिरा धेरै प्रयोगले धरै बेफाइदा भए पनि मात्रा मिलाएर प्रयोग गरेमा फाइदा पनि निकै छ । मुटुको रोग र आन्द्रामा हुने क्यान्सर भएका मानिसले बजारमा पाइने गुणस्तरीय ब्रान्डको रेड वाइन, ह्वाइट वाइन बिहान बेलुका एक गिलास प्रयोग गरेमा राम्रो हुने अनुसन्धानबाट पत्ता लागिसकेको पनि डा. पाण्डेले जानकारी दिए ।

उनले रक्सी प्रयोग गर्नुपरे पनि मासु, चिल्लो खानेकुरा वा पापडहरूसँग प्रयोग गर्न नहुने र फलफूल वा सलादसँग प्रयोग गर्नुपर्ने बताए । जर्मन अनुसन्धानकर्ताहरूले गरेका अध्ययनमा पुरुषसरह नै रक्सी प्रयोग गरेमा महिलाको दिमागमा गम्भीर क्षति पुग्ने पाइएको छ । वैज्ञानिकहरूले रक्सी पिउने १५० महिलाको मस्तिष्कको सिटिस्क्यान गर्दा स्मरण गर्न भूमिका खेल्ने मस्तिष्कका महत्त्ववपूर्ण नसाहरूमा क्षति पुगेको प्रतिवेदन सार्वजनिक गरेका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छिन् ।