पर्यटन/संस्कृति

भ्रमण वर्ष शुरु हुन डेढ महिना बाँकीः तयारी शुन्य, बजेटको अभाव

काठमाडौं । भ्रमण वर्ष सन् २०२० शुरु हुन करीब डेढ महिना बाँकी छ । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । भ्रमण वर्ष नजिकिँदै जाँदा यहाँ भने पर्यटन प्रवद्र्धनका लागि बजेट अभाव भएको छ । भ्रमण वर्ष सफल बनाउन जिल्लामा हालसम्म कहीँकतै छलफल पनि भएको छैन ।

जिल्लामा भ्रमण वर्ष लक्षित गतिविधि अझै पनि सुरु हुन सकेका छैनन् । स्थानीय तहले औपचारिक कार्यक्रम र चिठ्ठीपत्रमा भ्रमण वर्ष सन् २०२० को लोगो राख्नेबाहेक कुनै उपलब्धिपूर्ण काम गरेका छैनन् । यहाँका स्थानीय तहले पर्यटक आकर्षण गर्न र पर्यटकीयस्थलको प्रचारप्रसारमा ध्यान पुर्याउन सकेका छैनन् ।

भ्रमण वर्षलाई सार्थक बनाउन वृहत् योजना आवश्यक भए पनि जिल्लामा अहिलेसम्म कुनै तयारी नभएको भ्रमण वर्ष २०२० का प्रदेश समिति सदस्य भाष्कर काफ्ले स्वयं बताउछन् । उनले भ्रमण वर्षको नारामै सीमित भएकोजस्तो देखिएको बताएका छन् ।

सरकारले यहाँका चार पर्यटकीयस्थललाई पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । पर्यटकीय गन्तव्यको भौतिक विकास र प्रवद्र्धनका लागि बजेट नहुँदा प्रचारप्रसारलगायका काममा समस्या भएको काफ्लेको भनाइ छ । सरकारले १०० गन्तव्यमा सूचीकृत गर्दा बाँकेका चार समेटिएका हुन् । चार वटै गन्तव्य सूचीकृत भएपछि तिनीहरुको प्रवद्र्धनका लागि सरकारले बजेट भने उपलब्ध गराएको छैन ।

गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्णलाल चौधरीले सरकारले १०० गन्तव्यको सूचीमा राखे पनि प्रवद्र्धनका लागि बजेट भने नछुट्याएको बताए । “पचास गन्तव्यका लागि बजेट छुट्याएको थाहा छ”, उनले भने, “त्यसमा बाँकेका कुनै पनि गन्तव्य पर्न सकेनन्, नीजि क्षेत्रको पनि यसमा चासो देखिएन ।

सरकारले नेपालगञ्जमा रहेको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर, बैजनाथ गाउँपालिका–१ मा रहेको गाभर भ्याली, बाँके राष्ट्रिय निकुञ्जलाई स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यका रुपमा राखेको छ भने नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यमा डुडुवा गाउँपालिका–५ को कम्मर शाह मजारलाई सूचीकृत गरेको छ ।

आन्तरिक र बाह्य पर्यटकको केन्द्रका रुपमा रहेका पर्यटकीयस्थल सरकारको गन्तव्यमा सूचीकृत हुनु राम्रो भए पनि प्रवद्र्धन र विकासका लागि बजेट नछुट्याइनु निराशाजनक रहेको गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष चौधरीले बताएका छन् । सरकारले प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्र सूचीकृत गरे पनि प्रवद्र्धनका लागि बजेट नदिएको उनको गुनासो छ ।

पर्यटकीयस्थलको प्रवद्र्धन र पूर्वाधारबिना पर्यटक भित्र्याउन सम्भव नहुने बागेश्वरी मन्दिर व्यवस्थापन समितिका सचिव गोपालप्रसाद अधिकारीको भनाइ छ । बागेश्वरी मन्दिरको प्रवद्र्धन गर्न सक्ने हो भने मात्रै ठूलो सङ्ख्यामा धार्मिक पर्यटक भित्र्याउन सकिने उनले बताए । बजेट अभावकै कारण तयारी नहुँदा जिल्लामा पर्यटनको रौनक बढ्न नसकेको उनको भनाइ छ ।

“सरकारले पर्यटन वर्षमा २० लाख पर्यटक भित्र्याउने हो भने उनीहरूलाई लोभ्याउने गन्तव्य तय गरेर त्यसको प्रवद्र्धन हुनुपर्छ”, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले भने , “बाँकेमा रहेको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर, गाभर भ्याली, बाँके राष्ट्रिय निकुञ्जलगायत पर्यटकलाई आकर्षण गर्ने स्थलसमेत भएकाले प्रवद्र्धन जरुरी छ ।”

जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवको संयोजकत्वमा भ्रमण वर्षका लागि कार्ययोजना बनाउन गठन गरिएको २१ सदस्यीय जिल्ला समितिको बैठकसमेत हालसम्म बसेको छैन । सरकारको तयारी कम भएकाले लक्ष्य हासिल गर्नेमा शङ्का देखिएको गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष चौधरीले बताए ।

डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले पनि कम्मर शाह मजारका लागि सरकारबाट कुनै पनि बजेट उपलब्ध नभएको बताएका छन् । “अहिलेसम्म मजारका लागि बजेट कतैबाट पाएका छैनौँ”, अध्यक्ष चौधरीले ने । होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भीम कँडेलले काम गर्न खोज्दा पनि सम्बन्धित निकायको सहयोग नपाएको बताए ।