लुम्बिनी

समाजले सम्पदाको स्वामित्व ग्रहण नगर्दासम्म समृद्धि सम्भव छैन’

बुटवल । समाजले सम्पदाको स्वामित्व ग्रहण नगर्दासम्म समृद्धि सम्भव नहुने बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित छलफल कार्यक्रममा निष्कर्ष निकालिएको छ ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीले बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको लुम्बिनी समाचार महोत्सव अन्तर्गत ‘लुम्बिनी सम्पदा, समृद्धि र समाज’ विषयक सोमबार आयोजित छलफलका वक्ताहरुले कुनै पनि सम्पदालाई समाजको समृद्धिसँग जोडेर संरक्षण गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद घनश्याम भुसालले लुम्बिनीको विकासका लागि योजनाअनुसारको काम हुन नसकेको बताएका छन् । “लुम्बिनीको बहुआयामिक पक्ष देख्दा दङ्ग लाग्दो छ, तर अवस्था देखेर दिक्क लाग्छ”, उनले भने । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय) ले लुम्बिनीको विकासमा विगत ४० वर्षको अवधिमा नेपाल सरकारको अहिलेसम्म रु छ अर्बको लगानी भएको बताए ।

यसका साथै लुम्बिनीको सुन्दरताका लागि विभिन्न मुलुकका बौद्ध गुम्बा निर्माणमा करीब रु १९ अर्बको लगानी भएको समेत उनले जानकारी दिएका छन् उनले लुम्बिनी गुरुयोजना सकिने चरणमा रहेको उल्लेख गर्दै गुरुयोजना छिटो सकेर बुद्ध सर्किटको विकास गर्ने तयारीमा विकास कोष रहेको बताए ।

प्रदेशसभा सदस्य फकरुद्धिन खानले लुम्बिनीका महत्वपूर्ण सम्पदा सुरक्षित गर्न प्रदूषण नियन्त्रण गर्नुपर्ने बताएका छन् । “लुम्बिनी क्षेत्रमा स्थापित भएका उद्योगको प्रदूषणका कारण सम्पदामा गम्भीर आँच पुगेको छ, यसको नियन्त्रण जरुरी छ”, उनले भने ।

नेपालको पर्यटन प्रवद्र्धनको प्रमुख आधार नै लुम्बिनी भएकाले यसको विकासमा सरकार गम्भीर बन्नुपर्ने उनले बताए । उनले लुम्बिनीका विहारमा पर्यटक बस्दा यहाँका पर्यटन व्यवसायीलाई असर परेकाले यसबारे विकास कोष जवाफदेही बन्नुपर्ने धारणा राखेका छन् ।

कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्माले लुम्बिनीमा पर्यटकको बसाइँ अवधि लम्ब्याउन आकर्षक प्याकेज निर्माण गरी बृहत्तर गुरुयोजना निर्माण गरी अघि बढ्न सकिने धारणा राखे । एबिसी टेलिभिजनका सञ्चालक शुभशङ्कर कँडेलले सम्पदाको संरक्षण आशा र आदर्शको संयोजन भएकाले आम जनताको जीवनसँग यसलाई जोड्नुपर्ने बताए ।

उनले लुम्बिनीको विकास र संवद्र्धनका लागि लुम्बिनी विकास कोष र स्थानीयबीच समन्वय हुनुपर्नेमा जोड दिए । तीनै तहका सरकार मिलेर लुम्बिनीको समृद्धिका लागि योजना बनाउनुपर्ने उनको भनाइ छ ।