खेलकुद

विश्वकप फुटबलको एसियाली छनौट अन्तर्गत नेपालले आज कुवेतसँग खेल्दै

काठमाडौँ – विश्वकप फुटबलको एसियाली छनौट अन्तर्गत नेपालले आज (मंगलबार) कुवेतसँग खेल्दैछ । एएफसी विश्वकप छनौटको समूह ‘बी’ मा रहेको नेपाली टोलीले कुवेतसँग उसकै मैदानमा खेल्न लागेको हो ।

अहिलेसम्म नेपालले खेलेका चार खेलमा तीनमा हार र एकमा जित दर्ता गरेको छ । नेपाली टोलीले अवे मैदानमा हुने सबै खेल सकेको छ । तर घरेलु खेल पनि बाहिर नै खेल्नु पर्ने अवस्था रहेको छ ।

कुवेतसँगको घरेलु खेल नेपाली टोलीले मंगलबार भुटानको चाङलिमिथाङमा खेल्दैछ । नेपाली टोलीले कुवेतसँग ७–० ले पराजित भएर विश्वकप छनौट यात्रा सुरु गरेको थियो ।

नाइट क्लब गएको कारण देखाउँदै एन्फाले विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशीलाई कारवाही गरेको थियो। त्यहि कारण उनीहरु टोलीमा छैनन् ।

२३ मध्ये चार खेलाडीको विकल्पका रुपमा सवास गुरुङ राखिए र २० सदस्यीय टोली अहिले भुटानमा छ । नेपाली टोलीका कप्तान किरण चेम्जोङले आफ्ना टिम कुवेतसँग खेल्न तयार रहेको बताएका छन् ।

चार खेलबाट सात अंक जोडेको कुवेत दोस्रो स्थानमा छ । पहिलो स्थानको अस्ट्रेलियाको १२ अंक छ । तेस्रो स्थानको जोर्डनको सात तथा चौथो स्थानमा रहेको नेपालको तीन अंक छ । पुछारमा रहेको चाइनिज ताइपेइ भने अंक बिहीन रहेको छ ।