शिक्षा

नमूना विद्यालयमा ‘नर्सिङ कार्यक्रम’

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविमा विद्यालय नर्स कार्यक्रम शुरु गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं १ को ‘विद्यालय नर्सिङ’ कार्यक्रमअन्तर्गत जिल्लाका सामुदायिक विद्यालयमध्ये सरस्वती माविमा सोमबार विद्यालय नर्स कार्यक्रम शुरु गरिएको हो ।

सरस्वती माविको पाङ्गणमा सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसालगायतले ब्यानरमा हस्ताक्षर गर्दै विद्यालय नर्स कार्यक्रम उद्घाटन गर्नुभएको थियो । विद्यालय उमेर समूहका बालबालिकालाई स्वास्थ्यसम्बन्धी ज्ञान दिएर स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्न प्रदेश सरकारले ‘विद्यालय नर्सिङ’ कार्यक्रम ल्याएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले एक नर्स उपलब्ध गराएपछि केही समयपछि नै विद्यालय नर्स कार्यक्रम नियमितरूपमा सञ्चालन हुने नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थराज आचार्यले बताउनुभयो । हरेक सामुदायिक विद्यालयमा एक नर्स राख्ने व्यवस्थाअनुसार प्रदेश नं १ का १४ सामुदायिक विद्यालयमध्ये जिल्लाको सरस्वती माविले ‘विद्यालय नर्सिङ’ कार्यक्रम सञ्चालन गर्ने अवसर पाएको हो ।

जिल्लाकै सबैभन्दा पुरानो सरस्वती माविमा विद्यालय नर्स, डिजिटल विद्यालय तथा विद्यालय स्वास्थ्य कार्यक्रम एकैसाथ शुरु गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा रहेको सो विद्यालयलाई पछिल्लो समय शैक्षिक, भौतिकलगायत विभिन्न हिसाबले जिल्लाकै नमूना विद्यालयका रूपमा स्थापित गरिएको छ ।

सो विद्यालयमा ७६ वर्षीया वृद्धा जुरीमाया राईसँगै निजी विद्यालय छाडेर आउने विद्यार्थीसमेत अध्ययनरत छन् । पढ्नका लागि उमेरले छेक्दैन भन्ने सन्देश दिँदै हाल कक्षा २ मा अध्ययनरत केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी जुरीमायालाई सो कार्यक्रममा दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो ।