आर्थिक

गुट्खामा ३६ करोडको राजश्व छली, छ विरुद्ध मुद्दाः महानिर्देशक मैनाली

काठमाडौँ । झापाको मेचीनगर नगरपालिका– १४ मा रहेको साकम्बरी प्रोडक्टका सञ्चालकसहितको मिलेमतोमा गुट्खाजन्य मालवस्तुमा रु ३६ करोडबढीको राजश्व छली गरेको पाइएको छ ।

अनुसन्धानमा उक्त कम्पनीका सञ्चालक मुकेश शर्मा, रामकृष्ण शर्मालगायत छ जनाको मिलेमतोमा रु ३६ करोड ५४ लाख बिगो बराबरको राजश्व छली गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ । साकम्बरी प्रोडक्टले उत्पादन गरेको अवैध गुट्खाजन्य मालवस्तु माधव इन्टरप्राइजेजसमेतको संलग्नतामा अन्तःशुल्क स्टिकर नलगाई कानून बमोजिम बुझाउनुपर्ने अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र आयकरसमेत नबुझाई बिक्री वितरण गरेको पाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

उक्त घटनामा साकम्बरी प्रोडक्टका सञ्चालक मुकेशसहित रामकृष्ण, सुपरभाइजर सदनसिंह तथा माधव इन्टरप्राइजेजका सञ्चालक सीताराम शर्मा तथा सवारी धनी आशिष शर्मा र विष्णुप्रसाद खरेकोसमेत मिलेमतो रहेको देखिएकाले उनीहरु विरुद्ध मुद्दा चलाइएको उनले जानकारी दिए । यही मङ्सिर १ गते बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षको कैद सजाय माग दाबीसहित उनीहरु विरुद्ध जिल्ला अदालत झापामा मुद्दा दर्ता गरिएको विभागले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

नक्कली बीजक प्रयोग गरी राजश्व छली

मूल्य अभिवृद्धि करको झुट्टा तथा नक्कली बीजकको प्रयोग गरी राजश्व छल्ने तीनजना विरुद्ध राजश्व अनुसन्धान विभागले अर्को मुद्दा चलाएको छ । उनीहरुले रु एक करोड ७४ लाख २१ हजार बिगो बराबरको राजश्व छलेको अनुसन्धानबाट खुलेको छ । उनीहरु विरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबी गरेर काठमाडाँै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको विभागले आज एक सूचना जारी गरी जनाएको छ ।

गोरखा हङसपुर घर भई काठमाडौँ महानगरपालिका वडा नं ३२ बस्ने अम्बेल इन्टरप्राईजेजका सञ्चालिका विनिता दुवाडीले रु एक करोड २९ लाख, काठमाडौँकै सुसज्जित इन्टरप्राइजेजका सञ्चालिका सरस्वती गौतम र श्रीमान् रामशरणले रु ४५ लाख ४५ हजार बिगो बराबरको राजश्व छली गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो । उनीहरुलाई बिगो बराबरको दोब्बर जरिवाना र तीन वर्ष कैद सजायको माग गरिएको छ ।