राजनीति

संघीयता नचाहिने भन्ने चित्रबहादुरसंग गणतन्त्रबादी नेकपाको तालमेल हाँस्यास्पदः नेता सिटौला

गलकोट । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वाम गठबन्धन काग र कोइली जस्तो भएको बताएका छन् । उपनिर्वाचनका सन्दर्भमा बागलुङको पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाको राजकुटमा आज भएको काङ्ग्रेसको चुनावीसभालाई सम्बोधन गर्दे सिटौलाले सङ्घीयता कार्यान्वयन गर्ने नेकपा र सङ्घीयता चाहिदैन भन्ने पार्टी राष्ट्रिय जनमोर्चाको तालमेलले जनता हसाएको आरोप लगाए ।

आगामी मङ्सिर १४ गते हुन गइरहेको बागलुङ क्षेत्र नं– २ प्रदेशसभा ‘ख’मा हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी आयोजना गरिएको सभामा बोल्दै नेता सिटौलाले नेकपाले आफ्ना कार्यकर्ताको मर्म विपरीतको कार्य गरेको भन्दै काङ्ग्रेसले खबरदारी गर्ने बताए । सिटौलाले कार्यकर्तालाई आफ्ना उम्मेदवारलाई जिताउन घरदैलोमा जुट्नका लागि आग्रह गरेका थिए ।

काङ्ग्रेसका चुनावी अभियानका लागि सभापति शेरबहादुर देउवा, युवा नेता गगन थापा बागलुङ आउने कार्यक्रम रहेको जनाइएको छ ।