विचार/ब्लग

अरूको कुरा काटेरै हामी नेपालीको पुरा जीवन नष्ट

जिके पोख्रेल/हरेक मान्छे एक्लो वृहस्पति हो । एक्लै जन्मिन्छ र एक्लै मर्छ । बाँचुन्जेलको सहजताका लागि परिवार, नातागोता, साथीभाइ, इष्टमित्र, छरछिमेकी कुल कुटुम्बको मुख हेर्छ । यद्यपि यी जीवनको सहकारीमात्रै हुन् । मुख्य र खसोखास जीवन त मान्छेले आफ्नै मनभित्र बाँचेको हुन्छ । आफ्नो ब्रह्मको निर्देशन नमानेर अरूको लहैलहैमा लाग्नु बाँच्नु होइन– बाँचेको अभिनय गर्नु हो । अरूले के भन्लान् भनेर डराइडराइ बाँच्ने व्यक्ति अभिनेता हो– मान्छे होइन । अर्को कुरा हरेक मानिसको आफ्नै व्यक्तिसत्ता हुन्छ । त्यही व्यक्तिसत्ताको रक्षा गर्न प्रयोग गर्ने स्वविवेक नै वैयक्तिक जीवन हो । आफ्नो रुचिअनुसार (अरूको सामाजिक जीवनलाई असर नगर्ने गरी) आफ्नै लयमा जीवन गुजारा गर्न पाउनु आजको विश्वमा नागरिकको प्राथमिक अधिकार हो । त्यसमा चासो राख्नु र दखल दिनु अरूको नागरिक अधिकार हनन गर्नु हो ।

किन मिचिन्छ वैयक्तिक जीवनको सीमा ?
केही दिनमा देखिएका घटनाले यसको अलग व्याख्या गर्नुपर्ने देखिन थालेको छ । खासगरी मान्छेका निजी जीवनमा प्रशासन र सर्वसाधारणले देखाएको चासोले सार्वजनिक जीवन बाँचेका मान्छेलाई मुस्किल पर्न थालेको छ । यस्ता छलफल र चर्चा आवश्यक कि अनावश्यक? भन्ने कुरा प्रश्न उठ्न थालेको छ ।

केही दिनअघि एन्फाले नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई क्लबमा डान्स गरेको र मदिरा सेवन गरेको भनेर कारबाही गरेको घटनालाई लिऊँ । आम नागरिकका झैँ खेलाडीका पनि व्यक्तिगत आकाङ्क्षा हुन्छन् । मनोरञ्जन गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो । अन्तरराष्ट्रिय अभ्यास कस्तो छ भन्ने नबुझी खेलाडीलाई कारबाही गर्दा उनीहरूमा र अन्य खेलाडीमा कस्तो असर पर्छ भन्ने कुराको अनुमान नै नगरी राखेपले यस्तो निर्णय लिनु खेदजनक छ ।

२०१४ को विश्वकपमा विजेता जर्मनी टिमका खेलाडीलाई पत्नी र प्रेमिका साथै लैजान दिइएको थियो । इङ्ल्याण्डका खेलाडीले पनि परिवार साथै लिएर गएका थिए । उनीहरूलाई नियमित मैथुनिक क्रियाबाट रोकसमेत लगाइएन । उक्त विश्वकप हेर्न जर्मन चान्सलर एन्जेला मार्केल आफैँ ब्राजिल पुगेकी थिइन् ।

आफ्नो देशको राष्ट्रप्रमुखले रङ्गशालामै गएर हौसला दिएको कारणले मात्र नभई खेलाडीको यौन जीवन र मानसिक जीवन स्वस्थ भएको कारणले पनि जर्मनीले विश्वकपको उपाधि आफ्नो पोल्टामा पारेको हो । स्वस्थ रहन र आफ्नो क्षमताअनुसार प्रदर्शन गर्न खेलाडीले तन्दुरुस्तीका लागि मैदानमा व्यायाम गरेर मात्र पुग्दैन– आफ्नो मानसिक स्थितिसमेत तन्दुरुस्त राख्नुपर्छ ।

यसको अर्काे उदाहरणका रूपमा भारतका चर्चित क्रिकेटर विराट कोहलीलाई पनि लिन सकिन्छ । जतिखेर उनी नायिका अनुस्का शर्मासँग अफेयरमा थिए– त्यतिखेर उनको खेल जीवन करिअरकै उच्च फर्ममा थियो । समय समयमा उनीहरूका यौन जीवन र प्रेमका किस्सा गसिप बनेर भारतीय खेल र सिने जगतमा आइरहन्थे । बरू अचेल विराटले खेलमा लय गुमाइरहेका छन् ।

यहाँ भन्न खोजेको कुरा खेलमा मानसिक स्वास्थ्यको अहम् भूमिका हुन्छ । व्यक्तिगत निगरानीले फाइदा गर्दैन भन्ने हो । आफूले गर्नुपर्ने तमाम काम थाँती राखेको राखेपको यो हास्यास्पद निर्णयलाई के भन्ने ? ‘गेट वेल सुन’बाहेक केही भन्ने अवस्था रहेन ।

छोरी प्रेरणा र बुहारी हिमानीका साथमा रहेका पूर्व राजा ज्ञानेन्द्र लर्ड अफ ड्रिङ्स (एलओडी) डिस्कोमा नाचेको भिडियो एकाएक भाइरल भयो । ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ बोलको गीतमा पूर्व राजा ज्ञानेन्द्र नाचेको समाचारले देशका मुख्य मिडिया र सामाजिक सञ्जाल छपक्कै भरिएको छ । सरकारको तालाचाबी समातेर बसेका कम्युनिष्ट पार्टीका नेताले यसअघिका पूर्वराजा ज्ञानेन्द्रका यस्ता सामान्य कुरामा पनि गम्भीर आपत्ति जनाइँदै आएको थियो । समयाभावका कारण यसपटक कोही बोल्न नभ्याएका हुन् भन्ने यस पंक्तिकारको जिरह हो ।

‘भाइरल हुन पाएँ’को मोहमा ज्ञानेन्द्र शाहले पक्कै यसो गरेका थिएनन् । होटलवालाको ‘पब्लिसिटी स्टन्ट’को शिकार भएको बुझे कि बुझेनन् शाहले त्यो उनै जानून् । तर, यहाँ उनको वैयक्तिक जीवनको समाचार बेचेर मिडियाले पैसा कमाए– रक्सी पसलको विज्ञापन गरेर पसलेले पैसा कमाए ।

मेरो सदाबहार जिरह छ– कुनै पनि मान्छेको निजी जीवन हुन्छ । उसले के खान्छ ? कहाँ जान्छ ? नाच्न जान्दछ कि जान्दैन ? हाँस्यो कि रोयो ? यी गसिप बिकाउ कन्टेन्ट हुन् टिकाउ होइनन् । ‘हाइली सेलेब्स’ले रक्सी खानुलाई हामीले ग्ल्यामर बुझ्यौँ– गरिबगुरुवाले रक्सी खायो भने जँड्याहा भन्यौँ । नाचगान गर्न र मदिरा पिउन खोलिएका रेस्टुरेन्ट वा बारमा पुगेका ज्ञानेन्द्रले के भजन गाउनुपथ्र्यो ? या उनको ठाउँमा अरू नै कोही सर्वसाधारणले यसरी नाचेको भए कसैले चासो राख्थ्यो ? कुरा यहाँ चासोको मात्र होइन । काम नपाएका प्रहरी र मिडियालाई आफ्नो काम देखाउने मोह हो भन्ने हो ।

किन आउँछन् यी कुरा चर्चा र मिडियामा
आज हामी सभ्यताको ‘ब्रोइलर जेनेरेसन’मा छौँ । विकासे चारो खाएर असमयमै हलक्क बढेको ब्रोइलर कुखुराजस्तो विकासे ज्ञान छ । दिमागमा केही नभएर पनि महापण्डित भएको भ्रमको सेपमा परेको छ आजको पुस्ता । भन्न खोजेको कुरा हामीसँग सिर्जनशीलताको अभाव छ । अरूको कुरा काटेरै हामी नेपालीको पुरा जीवन नष्ट हुने गरेको छ । अर्कोतिर अराजकताको नाममा हामी आलोचनात्मक चेत गुमाइरहेका छौँ । हामीसँग कन्टेन्टमा नयाँ स्वाद दिनसक्ने हैसियत नै छैन । चाहे संघसंस्थामा होस् चाहे प्रहरीमा । चाहे सत्ताशीनमा होस् चाहे जनतामा ।

सदावहार प्रतिपक्ष हुने बहानामा मिडियाले हरेक कुरामा खण्डन मात्रै गर्न थाल्यो । अनि बिकाउ कन्टेन्टको नाममा सामाजिक जिम्मेवारीसमेत भुलेर मान्छेका नितान्त निजी जीवनको पछि क्यामेराको लेन्सले छर्रा हान्न थाल्यो । यसले आउनुपर्ने कुरा बाहिर आएनन्– लेखिनुपर्ने कुरा लेखिएनन् । बरू यस्तै सस्ता र ‘कन्टेम्पोररी इस्यु’ले पत्रिकाका साइट र पृष्ठ भरिन थाले । आगामी पुस्ताले यही परम्परा फलो गर्न थाले भने कसरी पत्रकारिता समाजप्रति जवाफदेही हुन्छ भन्ने ? यस्ता व्यक्तिगत गसिप र कुन्ठा लेखेर गरिएको पत्रकारिताले दुई छाकको गर्जाे टार्नेबाहेक केही उपती गर्दैन ।

अर्काे एउटा पुस्ता अराजक हुने नाममा सञ्जालमा आक्रोश वान्ता गरिरहन्छ । लाग्छ– उसँग गुनासोबाहेक केही छैन । अनि त्यही पुस्ताले हरेक कुरामा आफ्नो बोक्रे विद्वता छाँट्छ र ससाना वैयक्तिक जीवनका कुरामा हस्तक्षेप गर्न थाल्छ । उसलाई लाग्दैन हामी पनि वैयक्तिक जीवन बाँचिरहेका छौँ । हाम्रा अभिव्यक्तिको कसीमा हामीले आफैँले हेर्न थाल्यौँ भने हामी कति पानीमा हुन्छौँ ? मेरो बुझाइमा विषयगत दक्षताविना गरिएको यस्तो पत्रकारिता श्वेत पत्रकारिता होइन– सेमी पितपत्रकारिता नै हो । यस्तो ‘नेगेटिभ भाइब्स’ दिने समाचारले आशाको दियो बाल्न सक्दैन ।

मनोरञ्जन मानवअधिकारकै अंश हो
चाहे खेलाडी हुन् चाहे राजा । मनोरन्जनका लागि रेस्टुरन्ट पुगेका हुन् । ‘इन्टरनेसनल लेवर ल’ले पनि मान्छेलाई आठ घण्टा मनोरन्जन लिने अधिकार दिएको छ । जतिसुकै निरङ्कुस सरकार भए पनि अन्तरराष्ट्रीय अदालतले दिएको त्यो अधिकार खोस्न सक्दैन÷मिल्दैन । मानसिक शुद्धीकरण गर्न र आनन्द लिन नाइट क्लब पुगेका खेलाडीलाई खेलजीवनबाटै वञ्चित गर्नु, रात्रिकालीन पारिवारिक भोजमा नाइट क्लब पुगेका पूर्व राजाको नाचको अनावश्यक हल्लीखल्ली गर्नु, अनाम प्रोफेसर, नेता वा व्यापारीका निजी यौनजीवनलाई हाइलाइट गर्नु र प्रेमप्रणयका लागि सहमतिमा होटल पुगेका युवायुवतीलाई प्रहरीले छापा मार्नु आदि कार्यले हरेक तह र तप्काका मानिसको निजी जीवन धरापमा पर्दै गएको अनुभूति हुन्छ । फेरि जिरहको पुनरावृत्ति गरौँ– स्वैच्छिक सम्बन्धलाई अनैतिक करार गरेर प्रहरीले तलब पचाउनु कदापि ठीक होइन, बरु सिर्जनात्मक काम गर्नुपर्छ ।

निजी जीवनको स्वास्थ्य
संसारमा मान्छे जति विवेकशील प्राणी अर्काे छैन । प्राथमिक स्कुलमै पढेको ‘हामी विवेकशील प्राणी हौँ’को ट्यागले हामीलाई कतै विवेकहीन बनाइरहेको त छैन ? यी तमाम सामान्य ज्ञानगुनका कुरा पनि हामीले बिर्सियौँ । तर, मान्छेले जब आफ्ना निजी चाहना दबाउनुपर्ने अवस्थामा पुग्छ– तब ऊ कुण्ठित हुन थाल्छ । कुण्ठा निस्कासन हुन नपाएपछि विष्फोट हुन्छ र ऊ अपराध कर्ममा लिप्त हुन थाल्छ । अझै लामो समयसम्म कुण्ठा दबाउनुपर्याे भने अपराधको पुनरावृत्ति गर्न थाल्छ । चाल्र्स शोभराजजस्ता भयङ्कर अपराधीको जन्म निजी जीवनसँगै गाँसिएर आउँछ ।

त्यति मात्र होइन महात्मा गान्धी, काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईजस्ता ‘सन्त’ नेताको जीवनमा पनि व्यक्तिगत सम्बन्धले नराम्रो असर पारेको कुरा विभिन्न समयमा चर्चामा रहे । तर, उनीहरूको कर्म र त्यागमा यी कुरा सामान्य मात्रै रहे । करिअर नै डुबाउने गरी प्रलयकारीरूपमा आएनन् । किनकि तत् समयमा उनीहरूले विवेक गुमाएनन् ।

हिटलर त्यति धेरै क्रुर र तानाशाह हुनमा उनको पुंशत्वको खराबी थियो भन्ने चर्चा पनि सुनिन्छ । उही प्रकृतिका जटिल निजी जीवन बाँचेका मान्छेमध्ये कोही सन्त बन्छन्– कोही अपराधी । यसर्थ निजी जीवनमा प्रहरी, मिडिया, समाजका अन्य मान्छे पस्नु भनेको ‘काम पाउँदिनस् बुहारी पाडाको …कना’ चिन्तन मात्रै हो । त्यसले निजी जीवनहरूको सामाजिक स्वास्थ्यमा धावा बोल्छ र बिस्तारै मान्छेलाई एकलकाँटे र अपराधप्रेमी बनाउँछ । मनोरन्जन जीवनको अभिन्न अङ्ग हो– व्यक्तिगत जीवन स्वतन्त्रताको परिचायक ।