राजनीति

विशाल जुलुसमा नेविसङ्घ भन्छ: रगत बगाएरपनि कालापानी/लिपुलेक/लिम्पीयाधुरा फिर्ता गराउँछौं

काठमाडौ । लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको विरोधमा नेपाल विद्यार्थी सङ्घले राजधानीमा निकालेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ ।

प्रहरीको कुटाइबाट घाइते भएका विद्यार्थी नेता कृष्ण पुडासैनीको टाउकोमा सात टाँका लगाइएको सङ्घका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए । पक्राउ पर्ने विद्यार्थी नेताहरुमा, नवराज त्रिपाठी, मनिस सिंखडा, दीपक ओझा, सरोज थापा, सन्तोष पाण्डे, दीपेश ओली रहेका उनले बताए ।

पक्राउ परेकालाई तत्काल रिहा नगरे प्रहरी प्रशासन विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी काफ्लेले दिए । राष्ट्रियताका सवालमा नेविसङ्घले कसैसँग कहिल्यै सम्झौता नगर्ने भन्दै काफ्लेले भारतीय विस्तारवाद विरुद्धको आन्दोलन जारी रहने बताए ।

बिशाल कार्यक्रममा नेविसंघका पूर्व उपाल्यक्ष ऋषिकेशजंग शाहले आफूहरु चीन र भारतले हडपेका नेपाली भूमी फिर्ता गर्न जस्तोसुकै कदम चाल्न पनि तयार रहने बताउँदै आवश्यक परे रगतको खोलो बगाउन पनि तयार रहेको बतताएका थिए । पुर्ब महामन्त्री सरोज थापाले नेपालको भूमि तुरुन्त फिर्ता गर्न नेविसंघले दबाबमूलक आग्रह गरेको भन्दै राष्ट्रियताका सवालमा नेकपा सरकार चुप बस्ने लाजमर्दो भएको बताए । नेविसंघका हजारौं विद्यार्थीहरुले ब्याक अफ ईन्डीयाको ब्यानर बोकेर बिरोध जुलुसमा उपस्थिति भएका थिए । यसबेला नेकपा भातृसंस्था अनेराश्ववियू भने चुपचाव देखिनु लज्जास्पद भएको नेविसंघका नेताहरुले बताएका थिए ।