अन्तर्राष्ट्रिय

बुर्किना फासोमा ३२ जना आतंककारी मारिए

उजेन्सी । अफ्रिकी मुलुक बुर्किना फासोको सेनाले मुलुकको उत्तरमा सञ्चालन गरेको एक सैन्य कारबाहीमा कम्तीमा ३२ जना आतङ्ककारीको मृत्यु भएको जनाएको छ । आतंककारी समूहले गस्तीमा रहेको सैन्य टोलीमाथि आक्रमण गरेपछि सेनाले प्रतिकारबाही गरेको थियो ।

यस कारबाहीका क्रममा एक जना सिपाहीको पनि मृत्यु भएको छ । एक महिनाअघि मात्र एक क्यानाडेली खानी कम्पनीका मजदूर बोकेको सवारी साधनलाई लक्षित गरी आतंककारीले गरेको आक्रमणमा ३७ जना सर्वसाधारणको ज्यान गएको थियो ।

सेनाले चलाएको कारबाहीका क्रममा लोरुमस्थित योरसालाबाट यौनदासीका रुपमा बन्दक बनाएर राखिएका केही महिलाको उद्धार गरिएको छ । विद्रोहीबाट सेनाले हातहतियार र अरु युद्ध सामग्री पनि बरामद गरेको थियो । गरिबीको चपेटामा पिल्सिएको बुर्किना फासोमा सन् २०१५ यता शुरु भएको अतिवादी जिहादी आक्रमणबाट सात सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

गाउँगाउँमा शुरु भएको हिंसाका कारण पाँच लाखभन्दा बढी मानिस अन्यत्र पलायन भएका छन् । यी आक्रमणको जिम्मेवारी अल–कायदा र इस्लामिक स्टेट समेतका अनेक समूहले लिने गरेका छन् । मुलुकको कमजोर हातहतियार र तालिमप्राप्त सुरक्षाफौजको फाइदा उठाएर हिंसात्मक कारबाहीहरु वर्षैपिच्छे बढ्दै गएका छन्, र सन् २०१९ यता यो अझ बढेको छ ।

बुर्किना फासोका छिमेकी मुलुकहरु माली र नाइजर समेतमा फैलिएको यस हिंसात्मक कारबाही रोक्न अफ्रिकी सेनाका साथै फ्रेन्च र अमेरिकी सैनिक तैनाथ गरिए पनि सफलता हासिल हुन सकेको छैन ।