खेलकुद

बंगलादेशविरुद्व आज नेपालले समुह चरणको अन्तिम खेल खेल्दै

काठमाडौं । एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले आज (सोमबार) समुह चरणको अन्तिम खेल खेल्दैछ । बंगलादेशमा आयोजना भएको प्रतियोगिताको तेस्रो खेलमा नेपालले आयोजक बंगलादेशसंग प्रतिस्पर्धा गर्न लागेको हो । समुह ’बी’ मा रहेको नेपाल र बंगलादेशले समान दुई खेल खेलेका छन् ।

दुवै खेलमा जित निकालेको बंगलादेश समूहको शीर्ष स्थानमा छ । नेपाल एकमा जित र एकमा हार ब्यहोर्दै तालिकाको तेस्रो स्थानमा छ । अघिल्लो चरण प्रवेशको लागि नेपाललाई बंगलादेशविरुद्व जित निकाल्नै पर्ने दबाब छ ।खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे सुरु हुनेछ ।

ढाकामा बिहिबार भएको पहिलो खेलमा नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको थियो । यस्तै शनिबार दोस्रो खेलमा हङकङलाई ४० रनले पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भाबनालाई जिवित राखेको थियो । बंगलादेशले पहिलो खेलमा हङकङलाई ९ तथा भारतलाई ६ विकेटले पराजित गरेको थियो ।

उपाधि दाबेदार बंगलादेशलाई हराउँदै नेपाल अघिल्लो चरणमा राम्रा टिमविरुद्व क्रिकेट खेल्न चाहन्छ । नेपाली टिमको कप्तान ज्ञानेन्द्र मल्ल खराब लयमा छन् । सोही कारण नेपाललाई ब्याटिङमा समस्या देखिएको छ । अघिल्ला दुवै खेलमा मल्ल डक आउट भएका थिए । प्रतियोगितामा युएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको थियो ।समूहको शीर्ष दुई टिमले सेमिफाईनल खेल्नेछन् ।

नेपालको सम्भावित प्लेइङ सेट

ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, शरद भेसवाकर, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी, पवन सर्राफ, सोमपाल कामी, कारण केसी, सुसन भारी र ललित नारायण राजबंशी ।