बाग्मती

काठमाडौ मेडिकल कलेजद्वारा सडक दुर्घटना पीडितहरूलाई स्मरण गर्दै दीप प्रज्वलन

काठमाडौं । आइतबार संसारभर सडक दुर्घटनामा ज्यान गुमाएकाहरूलाई सम्झदै ‘सडक दुर्घटना पीडित स्मरण विश्व दिवस’ मनाइएको छ । नोबेम्बर महिनाको तेस्रो हप्ता संसारभर सडक दुर्घटना, यसको असर र न्यूनीकरणको लागि आवश्यक कार्य तथा नीतिनियमको बारेमा चर्चा परिचर्चा सहित यस दिवस मनाउने गरिन्छ।

KMCC

नेपालमा पनि काठमाडौं मेडिकल कलेज र  नेपाल इन्जरी अनुसन्धान केन्द्रले सडक दुर्घटनामा ज्यान गुमाएकाहरूलाई सम्झदै दीप प्रज्वलन सहित सडक दुर्घटनाका पीडितहरूलाई  स्मरण  गरेको छ । सिनामंगल स्थित मेडिकल कलेजको प्राङ्गणमा ‘लाइफ इज नट अ कार पार्ट’ भन्ने स्लोगनको साथ् सुरक्षित यात्राको लागि अग्रसर हुनुपर्ने खाँचो औल्याउँदै  सडक दुर्घटनामा ज्यान गुमाएकाहरूलाई स्मरण गरिएको हो ।

सडक दुर्घटनामा घाइते भएका गजेन्द्र बुढाथोकीले सडक दुर्घटनाको असर दिर्घकालिन हुने बताउँदै आफूले दैनिक पाँच हजार भन्दा बढी मूल्यको औषधि सेवन गर्नुपरेको बताए । “हरेक वर्ष देशको ८-११ प्रतिशत अर्थतन्त्र सडक दुर्घटनाको कारण खर्च भइरहेको छ,  यदि सरकाले यसतर्फ आवश्यक ध्यान दिने हो भने यो खर्च देश विकासको अन्य शिर्षकको लागि खर्च गर्न सकिनेछ । ‘ – उनले बताए ।

सडक दुर्घटनाका कारण ज्यान गुमाएकाहरुको सम्झना र उक्त दुर्घटनाका कारण आफन्तजनले भोग्नुपरेका भावनात्मक तथा व्यावहारिक परिणामको दुर्दशालाई न्यूनीकरण गर्नका लागि केही सहयोग पुगोस् भन्ने उद्देश्यका साथ् यस दिवस मनाइएको नेपाल इन्जरी अनुसन्धान केन्द्रका प्रमुख डा. सुनिल कुमार जोशीले बताए ।

सन् १९९३ मा बेलायतले प्रथमपटक सडक दुर्घटना पीडितहरूको सम्झना गर्दै यस दिवस मनाउन सुरुवात गरेको हो । त्यसपश्चात  सन् १९९५ मा युरोपियन फेडरेसन अफ रोड ट्राफिक भिक्टिम्स (एफइभिआर) अन्तर्गतका विभिन्न देशले यो दिवसलाई संयुक्त रुपमा मनाउन थालेका  हुन् । काठमाडौ  मेडिकल कलेजले  भने विगत ३ वर्ष देखि यो दिवस मनाउदै आएको छ ।