समाचार

इमान्दार, निष्पक्ष, निडर र निर्भिकतासाथ काम गर्न मातहतका प्रहरीलाई आईजीपीको निर्देशन

१ मंसिर, काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय प्रहरी दिवस २०७६ का अवसरमा आज राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै जिम्मेवारीप्रति लगनशील भई कार्य गरेमा हरेक घटनाको अनुसन्धानमा प्रहरीलाई सफलता मिल्ने बताएका छन् ।

खनालले प्रहरी कर्मचारीले पूर्ण व्यावसायिकताका साथ जिम्मेवारी बहन गर्दै कार्यसम्पादन गरे नागरिकले सुरक्षाको पूर्ण अनुभूति प्राप्त गर्ने जिकिर गरे ।

प्रहरी कर्मचारीलाई इमान्दार, निष्पक्ष, निडर र निर्भिकताका साथ कानून कार्यान्वयन गर्नेतर्फ अग्रसर हुन निर्देशन दिँदै उनले समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाइ समाजलाई भयरहित बनाउनु प्रहरीको जिम्मेवारी भएको बताए ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीअन्तर्गत रही उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरिएको थियो । उक्त अवसरमा पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह राना, ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र नागरिक समाजकातर्फबाट प्रा डा वासुदेव त्रिपाठीले मन्तव्य व्यक्त गरेका थिए ।