राजनीति

नेपालको एक इन्च पनि जमिन मिच्न दिँदैनौं – प्रधानमन्त्री ओली

KP OLI

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई कालापानीबाट सेना फिर्ता लैजान आग्रह गरेका छन्। नेपालको एक इन्च पनि जमिन मिच्न नदिने भन्दै उनले तत्काल सेना फिर्ता लैजान आग्रह गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट  भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई आज(आइतबार) काठमाडाैँमा सम्बोधन गर्दै उनले सरकार आफ्नो भूमि फिर्ता गर्न सक्षम रहेको भन्दै एक इन्च भूमि पनि मिच्न नदिने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै भने- ‘यो नेपाली जनताको सरकार हो । नेपाल राष्ट्रको सरकार हो । देशभक्त सरकार हो । त्यसकारण सरकारले आफ्नो भूमि एक इन्च पनि मिचिँन दिँदैन । हामी नेपालीहरुलाई अरुको जमिन अतिक्रमण गर्नुछैन । हाम्रो जमिनबाट हाम्रा छिमेकीहरुले सेना फिर्ता लैजाओस् । हाम्रो जमिनमा सेना नराख्नुहोस्, फिर्ता लैजानुहोस् हाम्रो आग्रह छ  ।’

विगतका शासकको कमजोरीका कारण नेपाली भूभाग मिचिएको बताउँदै नेपाल सरकार अतिक्रमित जमिन फिर्ता गराउन सक्षम रहेको उनले बताए । ‘नेपाली भूमि फिर्ता लिन सक्छौं, सक्नुपर्छ ।’ उनले थप भने ।

सिमा सुरक्षाको विषयमा सबै राजनीतिक दल, नागरिक समाज तथा जनताले चासो देखाएर ऐक्यबद्धता जनाएकोमा उनले खुसि समेत व्यक्त गरे ।