अन्तर्राष्ट्रिय

इरानमा इन्धनको मूल्यवृद्धिको विरोध, प्रदर्शनकारीको मृत्यु

तेहरान । इरान सरकारले पेट्रोलको मूल्यवृद्धि गर्ने घोषणा गरेको विरोधमा शनिबार भएको विरोध प्रदर्शनका क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने केही अरु घाइते भएका छन् । अमेरिकाले इरानमाथि आर्थिक नाकाबन्दीका साथै तेल निर्यातमा प्रतिबन्ध लगाएपछि इरानी अर्थव्यवस्था संकटमा छ ।

इरानी शहर सिरजानमा भेला भएका प्रदर्शनकारीले एउटा पेट्रोल डिपोमा आगलागीको प्रयास गरेपछि हिंसा भड्किएको थियो । यसक्रममा प्रहरीले गोली चलाउँदा एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको इरानी समाचार संस्था इस्नाले जनाएको छ ।

इरान सरकारले हरेक महिना पहिलो ६० लिटरसम्म पेट्रोल खरिद गरेमा ५० प्रतिशत र सोभन्दा माथि जतिसुकै पेट्रोल खरिद गरेमा ३०० प्रतिशत मूल्यवृद्धि गर्ने घोषणा गरेको छ ।

सिरजानका कार्यवाहक गभर्नर मोहम्मद महमौदाबादीले प्रदर्शनका क्रममा एक व्यक्तिको दुःखद निधन भएको बताउँदै सुरक्षाकर्मीलाई प्रदर्शनकारीमाथि गोली नचलाउन बरु सतर्क अवस्थामा मात्र रहन आदेश दिइएको जानकारी दिनुभयो ।

उहाँले स्थानीय मानिसहरु मूल्यवृद्धिका विषयमा शान्तपूर्वक छलफल गरिरहेको अवस्थामा कुनै तत्वले मानिसलाई उक्साएको पनि दाबी गर्नुभयो ।

तर, सिरजान बाहेक देशका अन्य भूभागमा पनि प्रदर्शनहरु भएको इरानी सरकारी समाचार संस्था इर्नाले जनाएको छ । यी प्रदर्शनहरु मुख्यतः अब्दान, अहवाज, बन्दार अब्बास, बिरजान्ड, गाचसारान, माशाद र शिराजमा भएका थिए ।

इर्नाका अनुसार यी प्रदर्शनका कारण शुक्रबार सवारी आवागमनमा सामान्य असर परेको र मध्यरातबाट शान्त भइसकेको छ ।

इरानी राष्ट्रपति हसन रौहानीले शनिबार झण्डै ७५ प्रतिशत इरानी जनता आर्थिक दबाबमा रहेको जनाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट संकलन हुने रकम जनतालाई नै बितरण गरिने जानकारी दिनुभयो । उहाँले यो रकम सरकारी कोषमा संग्रह नगरिने स्पष्ट गर्नुभयो ।

रौहानीले गत वर्ष डिसेम्बरमा नै पेट्रोलमा मूल्यवृद्धि गर्ने प्रयास गर्नुभएको थियो तर सर्वसाधारणको विरोधका कारण संसदले यो प्रस्तावलाई अस्वीकृत गरेको थियो ।

इरानमा यो मूल्यवृद्धि निकै संवेदनशील अवस्थामा घोषणा गरिएको छ किनभने आगामी फेब्रुअरीमा इरानमा संसदीय निर्वाचन पनि हुँदैछ ।

इरानमा पेट्रोलको मूल्यवृद्धि राष्ट्रपति, सभामुख र न्यायपालिकाका प्रमुख सम्मिलित आर्थिक समन्वय सम्बन्धी उच्च परिषदले स्वीकृत गरेको हो ।