साहित्य

शर्माले पाईन् ३० हजारको हरि–अभिनव सम्मान

काठमाडौं । साहित्यकार तथा शिक्षासेवी रमा शर्मालाई यस वर्षको ज्योतिष हरिप्रसाद घिमिरेको नाममा स्थापित हरि–अभिनव विद्वत् पुरस्कारबाट सम्मान गरिएको छ ।

अभिनव साहित्य समाजले प्रत्येक वर्ष कात्तिकमा प्रदान गर्दै आएको सो पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले आज जोरपाटीमा आयोजित कार्यक्रममा वितरण गरे । पुरस्कारको राशि रु ३० हजार रहेको छ । समाजका अध्यक्ष साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले पिता हरिप्रसादको स्मृतिमा २०६४ सालमा उक्त पुरस्कार स्थापना गरेका हुन् । विसं २०६५ कात्तिकदेखि सो पुरस्कार प्रदान गरिँदै आएको छ । हरिप्रसाद राजधानीको उत्तरपूर्वी भेगमा चर्चित ज्योतिष एवं साधकका रुपमा परिचित हुनुहुन्थ्यो ।

रु चार लाखको अक्षयकोष राखी त्यसबाट आउने ब्याजले वार्षिक रुपमा पुरस्कार प्रदान गर्न थालिएको हो । कार्यक्रममा सदस्य सचिव उपाध्यायले घिमिरेले पिताका नाममा शिक्षासेवी एवं साहित्यकारलाई सम्मान गरेर उदाहरणीय काम गरेको बताए । सम्मानित व्यक्तित्व शर्माका बारेमा साहित्यकार विष्णु प्रभातले जानकारी गराएका थिए ।

समाजले २०५८ फागुन २५ गतेदेखि प्रत्येक हप्ताको अन्तिम शनिबार जोरपाटीमा मासिक कवि गोष्ठीसमेत आयोजना गर्दै आएको छ । आजको २१३औँ श्रृङ्खलामा ३४ कवि एवं कवयित्रीले कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत सीमा विवादबारे आ–आफ्ना रचनामार्फत चर्चा गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीसमेत सहभागी थिए ।